निसीखोला गाउँपालिकाका जनप्रतिनिधिलाई चार दिने क्षमता विकास प्रशिक्षण

जनप्रतिनिधिहरुमा जिम्मेवारीको विषयमा बेला बेला विवाद र्सिजना भइरहेको अवस्थालाई मध्यनजर गर्दै हामीले कानुनका कुराहरू जानकारी गराउन प्रशिक्षणात्मक कार्यक्रमको आयोजना गरेका हौं ।

निसीखोला गाउँपालिकाका जनप्रतिनिधिलाई चार दिने क्षमता विकास प्रशिक्षण
निसीखोला । बागलुङको निसीखोला गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि ४ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहमा सूचनाको हक तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ का काम, कर्तव्य र अधिकार सम्बन्धी ४ दिने प्रशिक्षण कार्यक्रम बुधबार निसीखोलामा सम्पन्न भएको हो । खरी मिडिया प्रालिको आयोजना र निसीखोला गाउँपालिकाको प्रयोजनमा भएको प्रशिक्षण कार्यक्रममा वडा सदस्य, कार्यपालिका सदस्य, वडाध्यक्ष, उपाध्यक्ष र अध्यक्षको काम कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण भएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीलिपकुमार चन्दले जानकारी दिए । 'जनप्रतिनिधिहरुमा जिम्मेवारीको विषयमा बेला-बेला विवाद र्सिजना भइरहेको अवस्थालाई मध्यनजर गर्दै हामीले कानुनका कुराहरू जानकारी गराउन प्रशिक्षणात्मक कार्यक्रमको आयोजना गरेका हौं' चन्दले भने । प्रशिक्षण कार्यक्रममा बजेटको योजना तर्जुमा, स्वीकृत बजेट, कार्यक्रमको सम्झौता, नागरिकमा सूचनाको हक,जनप्रतिनिधिकाे काम, कर्तव्य र अधिकारलगायतका विषयमा प्रशिक्षण भएको खरी मिडिया प्रालिले जनाएको छ । फागुन ६ गतेदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा गाउँपालिकाभित्रका सम्पूर्ण जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । प्रशिक्षण कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तीमगरले कानुनी विषय प्रष्ट हुँदा जनप्रतिनिधिहरुलाई काम गर्न थप सहज हुने विश्वास व्यक्त गरे । ‘स्थानीय सरकार सञ्चालन ऐनका केही विषयमा अस्पष्ठता हुँदा जनप्रतिनिधिहरलाई कार्यसम्पादनमा समस्या भएकाे थियो,’ उनले भने, ‘प्रशिक्षणले सिकाएका धेरै कुराहरू हामी लागू गर्न प्रतिबद्ध हुनुपर्छ ।’ यस्तै कार्यक्रममा बोल्दै उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले जनप्रतिनिधिहरूको काम,कर्तव्य र अधिकारको विषयमा प्रशिक्षणले थप प्रष्ट बनाएकाे बताए ।