महामन्त्री शर्माले महासमितिमा पेश गरेको प्रस्तावमा मन्त्रीहरूको आलोचना

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा मन्त्रीहरूको आलोचना गरेका छन्।

महामन्त्री शर्माले महासमितिमा पेश गरेको प्रस्तावमा मन्त्रीहरूको आलोचना
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा मन्त्रीहरूको आलोचना गरेका छन्। मंगलबार गोदावरीस्थित सनराइज हलमा जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै उनले कांग्रेसका मन्त्रीहरूको आलोचना गरेका हुन्। उनले पार्टीबाट सहभागी केही मन्त्रीले सरकारमा गएर प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन्। ‘जनअपेक्षा अनुसार सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ। कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चय छ। तर, केही मन्त्रीको भूमिका मन्त्रीको रूपमा प्रभावकारी बिल्कुलै देखिएको छैन,’ प्रतिवेदनमा शर्माले लेखेका छन्। त्यस्तै चीन र भारतसँग सरकारले कूटनीतिक संवाद गरी प्रयोगविहीन रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउनुपर्ने पनि धारणा उनले राखेका छन्। अर्बौंको ऋण लिएर बनाइएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगबिहीन बन्दा आर्थिक भारमा मुलुक फसेको उनको तर्क छ। ‘अर्बौंको ऋण लिएर हामीले बनाएका दुई अन्तर्राष्ट्रिय विमानस्थल एक ढंगले प्रयोजनहीन अवस्थामा छन्। मुलुकको अर्थतन्त्रतले चुनौती सामना गरिरहेको बेला विमानस्थलहरूको यो अवस्था हाम्रा लागि बिल्कुलै सुखद् छैन,’ महामन्त्री शर्माले प्रतिवेदनमा लेखेका छन्, ‘यस्तो समयमा बलियो राजनीतिक र कूटनीतीक इच्छाशक्ति अपेक्षित छ। जसमार्फत उत्तर र दक्षिणका दुबै मित्र राष्ट्रसँग हामीले सार्थक व्यवसायिक संवाद गर्न सकौं।’