काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९: ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।
२०२७ सम्म चल्ने लिग२ मा नेपालसहित ८ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र नामिबिया दुवै विजयी सुरुआत गर्न चाहन्छन् । पछिल्लो एक वर्षमा नेपालले घरेलु मैदान टीयुमा ओडीआई खेल हारेको छैन । नेपाल घरेलु मैदान, दर्शक, कन्डिसन र आफ्नो उच्च लयलाई निरन्तरता दिंदै विजयी सुरुआत गर्ने सोचमा हुनेछ ।
नेपालको कप्तानी रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले गर्नेछन् । नेपालले यसै साता क्यानडासँग तीन ओडीआई खेलको सिरिज खेल्दै क्लिन स्विप गरेको थियो । त्यसैले नेपालको मनोबल उच्च छ । नेपालले आज ओपनर आसिफ शेखको स्थानमा अनिल शाहलाई मौका दिने सम्भावना रहन्छ । क्यानडासँग दुई खेलमा अनिलले ५० र ११२ रन बनाएपछि त्यो सम्भावना बढेको हो । क्यानडासँग अन्तिम खेलमा शतक हानेका भीम सार्कीले भने निरन्तरता पाउनेछन् । रोहित पौडेल र आरिफ शेख नेपालका प्रमुख दुई ब्याटर हुन् । मध्यक्रममा यी दुई खेलाडीको प्रदर्शन महत्वपूर्ण हुनेछ ।
प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी इन्टरनेशल लिग टी-२० को कारण आजको खेल गुमाउने छन् । उनी नहुँदा पवन सरार्फ खेल्ने सम्भावना छ ।
नेपालको तीव्र गतिको बलिङ आक्रामणमा करण केसी र सोमपाल कामी हुनेछन् । गुलशन झालाई अलराउन्डरको रुपमा खेलाउन सक्छ । स्पिनरमा भने ललितनारायण राजवंशी प्रमुख बलर हुन् । उनलाई रोहित, पवन र कुशलले साथ दिनेछन् ।
उता नामिबियाका बायाँ हाते ओपनर माइकल भान लिंगेनले ओडीआईमा नेपालविरुद्ध गत वर्ष लिग(२ मा दुई शतक हानेका थिए । त्यसैले उनको विकेट आज निकै महत्वपूर्ण हुनेछ ।
नामिबियायको ब्याटिङ लाइनअप मजबुत छ । कप्तान जेराल्ड इरास्मस, जेन फ्रेलिंक, जेपी कोट्जी र निकोलस डेभिन जस्ता खेलाडी नामिबियाको टोलीमा छन् ।
तीव्र गतिका बलर रुवेन ट्रम्पलम्यानको बलमा सम्हाल्लिनु पर्ने हुन्छ । यु-१९ विश्वकप खेलेका ज्याक ब्रासेलले डेब्यू गर्ने सम्भावना छ । इंग्ल्यान्डमा घरेलु क्रिकेट खेल्ने उनले नेपाललाई सरप्राइज दिनसक्छन् । बेन शिकोंगो र बेर्नार्ड स्कोल्ट्ज दुई प्रमुख स्पिनर हुन् ।
गत वर्ष दुवै खेलमा पहिला ब्याटिङ गर्दै नामिबियाले २८५ र २७४ रन बनाए पनि जोगाउन सकेको थिएन । नेपाल र नामिबियाबीच भएका पछिल्ला पाँच खेलमा समान दुई खेलमा जित र हार व्यहोरेका छन् ।
नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि बुधबार नामिबिया र आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ : आज नामिबियासँग खेल्दै नेपाल
नेपाल र नामिबिया दुवै विजयी सुरुआत गर्न चाहन्छन् । पछिल्लो एक वर्षमा नेपालले घरेलु मैदान टीयुमा ओडीआई खेल हारेको छैन । नेपाल घरेलु मैदान, दर्शक, कन्डिसन र आफ्नो उच्च लयलाई निरन्तरता दिंदै विजयी सुरुआत गर्ने सोचमा हुनेछ ।

