क्यानडाले नेपालाई दियो २८६ रनको लक्ष्य

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनायो ।

क्यानडाले नेपालाई दियो २८६ रनको लक्ष्य
काठमाडौं । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडालाई हराउन दुई सय ८६ रन बनाउनु पर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनायो । पहिलो विकेटका लागि ओपनर आरोन जोनसन र नवनित डालिवालले ९४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। पहिलो विकेटका लागि नेपालविरुद्ध क्यानडाले गरेको दोस्रो ठुलो साझेदारी हो। यसअघि एसिया कपमा भारतका रोहित शर्मा र शुभमन गीलले १ सय ४७ रनको अविजित साझेदारी गरेका थिए। आकाश चन्दले १८.२ ओभरमा ओपनर नवनित डालिवाललाई विकेट किपर आशिफ शेखको हातबाट आउट गराउँदै ठुलो साझेदारी तोडेका थिए। नवनितले ६० बलमा ८ चौका हान्दै ४६ रन बनाएर पेभेलियन फर्के। आकाशले डेब्यु विकेट लिए। अर्का ओपनर आरोन जोनसन ६५ रन बनाउँदा रन आउट भए। आरोनले ६२ बलमा १० चौका र २ छक्का हाने। कप्तान रोहित पौडेलले ३२ औँ ओभरमा दुई विकेट झारे। रोहितले ३२ औँ ओभरको पाचौँ बलमा निकोलस किर्तनलाई २० रनमा आउट गराए। रोहितले सोही ओभरको दोस्रो बलमा पारगत सिंहलाई ३८ रनमा क्याच आउट गराएका थिए। ३८ बलमा ६ चौका हाने पारगत रोहितको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। कुशलले ४१ औँ ओभरको चौथो बलमा कप्तान सद विन जफरलाई १ रन बनाउँदा पवन सर्राफको हातबाट क्याच आउट गराए। ३९ औँ ओभरको चौथो बलमा दिलप्रित बाज्वालाई १९ रनमा बोल्ड आउट गराए। त्यसअघि ३४.५ ओभरमा सुर्य तामाङले हर्ष ठाकरलाई ३ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराउँदै ओडीआईको पहिलो विकेट लिएका थिए। सुर्यले क्यानडाविरुद्धको पहिलो खेलमा डेब्यु गरेका थिए। पवन सर्राफले साहिद ममजाइलाई १३ रनमा बोल्ड आउट गराए। नवौँ किवेटका लाग श्रेयास मोभा र उदय भगवान ४६ रनको साझेदारी गरे। श्रेयास ४० रन बनाउँदा सोमपाल कामीको बलमा क्याच आउट भए। उदय २० रनमा नटआउट रहे। नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान २ विकेट लिए। सोमपाल कामी, सुर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा एक एक विकेट रह्यो।