पोखरा । योजनाबद्ध रूपमा फोनबाट धम्क्याएर व्यापारीसँग पैसा असुल्ने गरेको आरोपमा कास्की प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पोखराको लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ मा नचिनेको नम्बरबाट फोन आउन थाल्यो। हिन्दी भाषामा उनलाई फोन गर्ने, मेसेज पठाउने गरिरहेका व्यक्तिले पाँच करोड रुपैयाँ माग गरे। पैसा नदिए ज्यान मार्ने धम्की दिए।
गैरे पोखरा दीपमा रहेका सच्चाई सेवा केन्द्र नेपालका अध्यक्ष हुन्। उनीहरूले किन र केका लागि पैसा माग्दै धम्क्याएका हुन् भन्ने गैरेलाई थाहा थिएन। उनले जिल्ला प्रहरी कार्यालय, कास्कीमा निवेदन दिए।
प्रहरीले खोजबिन गर्दै जाँदा दुई जनालाई पक्राउ गरेको छ। पर्वतको कुश्मा नगरपालिका-२, खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी र कुस्मा-१४ आर्थरका ४२ वर्षीय दीपकबहादुर क्षेत्री पक्राउ परेका छन्। दुवै जना पोखरा-८, सिमलचौरमा डेरा गरी सँगै बस्दै आएका थिए।
कास्की प्रहरीले दुवै जनालाई बिहीबार सार्वजनिक गर्दै उनीहरूले योजनाबद्ध रूपमा धम्क्याएर पैसा असुल्दै आएको जनाएको छ। उनीहरूबाट केही कागजात पनि बरामद गरिएको छ। जसमा बिग मनी बिग टार्गेट, किड्न्याप, फिरौती, शूट आउट, नेता व्यापारी, गुन्डा, भूमाफिया, मेडिकल माफिया, म्यानपावर लेखिएका छन्।
उनीहरूले ठूला व्यापारी, नेता लगायतलाई अपहरण, धम्की र फिरौती रकम माग गर्ने योजना बनाएको देखिएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए।
पक्राउ परेका दर्जी एक महीनाअघि मात्र कतारबाट फर्किएका थिए। गत चार वर्षदेखि वैदशिक रोजगारमा रहेका उनले क्षेत्रीसँग मिलेर यस्तो योजना बनाएको पाइएको एसपी थापाले जानकारी दिए।
क्षेत्री भने बेरोजगार हुन्। उनीहरूबाट खुकुरी, गाँजा ५७२ ग्राम, भरुवा बन्दूकमा लाग्ने केप २७ वटा, सानो-ठूलो मुगा १४ वटा भेटिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका क्षेत्रीमाथि पर्वतमा २०७९ सालमा हातहतियार तथा खरखजाना सम्बन्धी र २०७१ सालमा वडा प्रहरी कार्यालय, बगरमा अभद्र व्यवहार सम्बन्धी मुद्दा परेको थियो। दुवै जनालाई लागूऔषध गाँजा सम्बन्धी मुद्दा, हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा र आपराधिक लाभ एक्सटर्शन सम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको एसपी थापाले बताए।
पोखरामा फोनबाट धम्याएर ५ करोड रुपैयाँ फिरौती माग्ने २ जना पक्राउ
योजनाबद्ध रूपमा फोनबाट धम्क्याएर व्यापारीसँग पैसा असुल्ने गरेको आरोपमा कास्की प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

