भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृत सहित चार जना जेल चलान

भिजिट भिसाको आवरणमा संगठित समूह बनाएर मानव तस्करी गरेको आरोप लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कासहित चार जनालाई जिल्ला अदालत, काठमाडौंले जेल चलान गरेको छ।

भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृत सहित चार जना जेल चलान
काठमाडौं । भिजिट भिसाको आवरणमा संगठित समूह बनाएर मानव तस्करी गरेको आरोप लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कासहित चार जनालाई जिल्ला अदालत, काठमाडौंले जेल चलान गरेको छ। नरवीर मानव बेचखिन तथा ओसारपसार सम्बन्धी अलग्गै कसूरमा पुर्पक्षका लागि थुनामा छन्। रुसी सेनामा भर्ती हुन गएका एक जना पूर्व प्रहरीले फर्किएपछि जाहेरी दिएर नरवीर गत मंसीरमा पक्राउ परेका थिए। न्यायाधीश कपिलमणि गौतमको इजलासले माघ २३ गते नरवीर, अरुण दाहाल, मनोज तामाङ र सरोजकुमार यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। दिनेश ज्ञवाली, रविन अर्याल, पदम लामा, विनोद कार्की र रामप्रसाद भण्डारीलाई भने धरौटीमा छोडेको छ। पाँच लाख धरौटी जम्मा गर्न नसकेपछि गीता शाहलाई पनि जेल चलान गरिएको छ। शाहले भिजिट भिसामा बाहिर जाने मानिस खोज्ने भूमिका पाएकी थिइन् भने दिनेश, रविन र रामप्रसाद नामवली संकलन गर्ने भूमिकामा थिए। संकलित नामवलीअनुसार नक्कली कागजात बनाउन मनोज र विनोदको जिम्मेवारी थियो। दाहाल, तामाङ र यादवले भिजिट भिसामा पठाउनुपर्नेहरूको नामवली अध्यागमन अधिकृत खड्कालाई दिने गरेको अभियोग छ। ती नामवलीअनुसार, खड्काले अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोसहितको टिम बनाएर पार गराउने गरेका थिए। खड्काबाहेक अध्यागमनका अन्य अधिकृतहरू भने फरार छन्। रोजगारीका लागि सेटिङमा भिजिट भिसामा जानेहरूबाट रकम असुलेर संगठित गिरोह सञ्चालन गर्ने समूहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरेको थियो। अध्यागमनका नौ जना कर्मचारीसहित २२ जनाले भूमिका बाँडफाँट गरेर संगठित रुपमा भिसामा मानिस पठाउने गरेको अभियोग माघ १८ गते अदालतमा दर्ता भएको थियो। भिजिट भिसा लिएर सेटिङमा गएकाहरू कतिपय विदेश पुगेपछि श्रम भिसा लिएर काम गर्ने गरेका छन् भने कतिपय अलपत्र पर्ने गरेका छन्।