बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित तीन जनालाई दुई दिनभन्दा धेरै हिरासतमा नराख्न अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई दुई दिनभन्दा धेरै हिरासतमा नराख्न आदेश दिएको छ ।

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित तीन जनालाई दुई दिनभन्दा धेरै हिरासतमा नराख्न अदालतको आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई दुई दिनभन्दा धेरै हिरासतमा नराख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले हिजो उनीहरु तीनै जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । व्यवसायी अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सीका सञ्जय ठाकुरलाई थप दुई दिन हिरातमा राख्न अनुमति दिएको हो । जग्गा प्रकरणमा सीआईबीले उनीहरुलाई माघ १८ गते पक्राउ गरेको थियो । यसअघि प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि हिजो जिल्ला अदालत काठमाडौंमा पेस गरिएको थियो । पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा त्यसअगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने र त्यसो नभएमा म्याद थप भएको दुई दिनभित्र बुझ्नुपर्ने बाँकी काम सक्ने र नसकिएमा अनुसन्धानमा सहयोग गर्ने कागज गराइ हाजिर जमानीमा छाड्न आदेश दिइएको छ । स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै उनीहरु अहिले ग्राण्डी अस्पतालमा उपचाररत छन् ।