सरकार गठनको कसरत : सभामुखमा देवेन्द्र पौडेलको सम्भावना

सरकार गठनका लागि १३८ संसदको लेखाजोखा गर्दै कांग्रेस नेतृत्वको सत्ता-गठबन्धन आवश्यक कसरतमा लागेको छ।

सरकार गठनको कसरत : सभामुखमा देवेन्द्र पौडेलको सम्भावना
काठमाडौं । निर्वाचन आयोगले हालै सम्पन्न आम निर्वाचनको मतपरिणाम प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । यो प्रक्रियासँगै नयाँ सरकार गठन र संसद् अधिवेशन आह्वानको प्रक्रिया अघि बढ्ने भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६२ मा राष्ट्रपतिसमक्ष आयोगले प्रतिवेदन बुझाउनुपर्ने प्रावधान रहेको छ । संविधानको धारा ७६(८)मा प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्ने व्यवस्थाअनुरूप राष्ट्रपतिले चाँडोभन्दा चाँडो सरकार गठनका लागि सहजीकरण गर्ने राष्ट्रपतिका प्रेस विज्ञ टिका ढकालले बताएका छन् । सरकार गठनका लागि १३८ संसदको लेखाजोखा गर्दै कांग्रेस नेतृत्वको सत्ता-गठबन्धन आवश्यक कसरतमा लागेको छ। निर्वाचनमा अपेक्षित नतिजा नआएपछि यो गठबन्धन आवश्यक अङ्क पुर्याउन लागिरहेको छ। यसैबीच निर्वाचन मतपरिणाम अनुसार सबैभन्दा ठूलो दल बनेको कांग्रेसले प्रधानमन्त्रीको दावी नछोड्ने देखिएको छ भने तेस्रो ठूलो दल माओवादी केन्द्रले सभामुखमा दावी गर्ने भएको छ । यदि सत्ता गठबन्धनको सरकार बन्ने हो भने हालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई माओवादीले सभामुखको रुपमा अघि सार्ने एक नेताले बताए । ‘शिक्षामन्त्रीको रुपमा नेता पौडेलको भूमिका महत्वपूर्ण र सफल रहेकोले पार्टीले सभामुखमा उनलाई अघि सार्ने तथा यसमा मन्त्री पौडेलले पनि इच्छा देखाउनुभएको छ ।’ ती नेताले बताए । मन्त्री पौडेल बागलुङ क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।