रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

रुकुमपश्चिम ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
रुकुमपश्चिम । रुकुमपश्चिम ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बाँफिकोट गाउँपालिका –४ का २८ वर्षीय लक्ष्मण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, वडा ५ का २२ वर्षीय कैलाश पुरी र वडा ६ का एक जना १५ वर्षीय बालक रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट सोमबार बिहान प्रहरी निरीक्षक खड्काको नेतृत्वमा खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । आइतबार बेलुका रुकुमपश्चिमकोे बाँफिकोट –३ स्यार्पुमा प्रहरीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ । आक्रमणमा परेर ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानद्वय महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका थिए । आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । उनीहरुलाई उपचारका लागि आइतबार राति जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । घाइतेहरुलाई थप उपचारका लागि लुम्बिनी प्रदेश अस्पताल नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। प्रहरीमाथि हातपात तथा कुटपिट गर्ने अन्य व्यक्तिहरु फरार रहेको र उनीहरुको पनि खोज तलास भइरहेको प्रहरीको भनाइ छ ।