बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली संस्थापक सञ्चालक रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले उनको घरजग्गा लिलामीको सूचना निकालेका छन् ।
सहकारीका बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका नेपालीलाई पक्राउ गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेकै बेला संघर्ष समितिको नाममा नेपालीको स्वामित्वमा रहेका विभिन्न कित्ताका जग्गा र घर बिक्रीको सूचना सार्वजनिक गरिएको हो।
इमेज बचत तथा ऋण सहकारी संघर्ष समिति बागलुङले शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपालीको स्वामित्वमा रहेको ४५ कित्ता घरजग्गामध्ये काठमाडौं, पोखरा र बागलुङ बजार तथा बुर्तिवाङमा रहेको घरजग्गालाई बिक्री गर्न चाहेको भन्दै किन्नेले १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।
पत्रकार सम्मेलनमा संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले काठमाडौं महानगरपालिका ४ को घरलाई ७५ करोड, पोखराको घरलाई ४५ करोड, बागलुङ बजारको घरलाई २५ करोड र बुर्तिवाङको ८० करोड मूल्य तोकेर खरिद गर्न चाहनेको खोजी गरेको हो। त्यसका लागि अग्रिम २५ प्रतिशत रकम बुझाउनुपर्ने सर्तसमेत संघर्ष समितिको रहेको छ।
यसरी उठ्ने अग्रिम मूल्यबाट देवकुमार नेपालीले लिएको ऋण तिरेर घरजग्गा समितिको नाउँमा ल्याउने र त्यसपछि मात्र देवकुमार नेपालीलाई झिकाएर जग्गा बेच्ने योजना कार्कीले सुनाए।
रोक्का रहेको घरजग्गा कसरी तेस्रो पक्षले बेच्न सक्छ भन्ने प्रश्नमा उनले देवकुमार स्वयंले नै जग्गा बेचेर बचतकर्ताको रकम फिर्ता गर्छु भनेकाले व्यवहारिक रुपले यो निर्णय गरिएको जानकारी दिए।
देवकुमारले यसअघि सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूसँग ३ अर्बभन्दा बढीको सम्पत्ति भएको र त्यो बेचेर पनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए। त्यसपछि पनि उनले आफू निकट व्यक्तिहरुसँग सम्पर्क गर्दै सहकारी ब्यूँताउने र नयाँ सञ्चालक समिति चयन गरेसँगै रकम फिर्ता प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए।
त्यही प्रतिवद्धता अनुसार माघको ६ गते बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्थाको शनिबार विशेष साधारणसभा भएको थियो।



