१५ वर्षअघिको हत्या घटना : पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी

पञ्चा सिंहले भने यसबारे आफूलाई जानकारी नभएको बताएकी थिइन्। केही दिन अघि समाचार बाहिरिएपछि उनले सामाजिक सञ्चालमार्फत यसबारे छानबिन गर्नुपर्ने भन्दै लेखेकी थिइन‍्।

१५ वर्षअघिको हत्या घटना : पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं । १५ वर्ष अघि भएको हत्याको घटनामा नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहसहित ६ जनाविरूद्ध पुर्जी जारी भएको हो । २०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो। सुर्खेत वीरेन्द्रनगरस्थित जनमाविमा राजबहादुरको हत्या भएको थियो। हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो। किटानी दर्ता भएका ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ । टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनीहरूको खोजी गरिरहेको छ। पञ्चा सिंहले भने यसबारे आफूलाई जानकारी नभएको बताएकी थिइन्। केही दिन अघि समाचार बाहिरिएपछि उनले सामाजिक सञ्चालमार्फत यसबारे छानबिन गर्नुपर्ने भन्दै लेखेकी थिइन‍्।