त्रिशुलीमा खसेको गाडीमा चालक मात्रै रहेको पुष्टि, अमला लिएर आएका थिए काठमाडौं

मंगलबार बिहान त्रिशुली नदीमा खसेको भारतीय गाडीमा चालक मात्रै रहेको खुलेको छ।

त्रिशुलीमा खसेको गाडीमा चालक मात्रै रहेको पुष्टि, अमला लिएर आएका थिए काठमाडौं
काठमाडौं । मंगलबार बिहान त्रिशुली नदीमा खसेको भारतीय गाडीमा चालक मात्रै रहेको खुलेको छ। भारतबाट भैरहवाको सुनौली नाकाहुँदै बोलेरोमा अमला लिएर पुस २९ गते काठमाडौं आएका भारतीय सवारी चालक सोमबार फर्किएका थिए। कालीमाटीस्थित काठमाडौं सोलुशन ट्रेडर्समा अमला छाडेर उनी सोमबार त्यहाँबाट सुनौली नाकाहुँदै भारत जान बाटो लागेका थिए। काठमाडौं सोलुशन ट्रेडर्सले दिएको जानकारी अनुसार उक्त गाडीमा चालक मात्रै थिए। चालक पनि भारतीय नागरिक नै रहेको उनले बताए। ‘यो नम्बरको गाडी त हाम्रोमा सामान लिएर आएको थियो। हिजो हाम्रोमा अमला छाडेर फर्किएको थियो। त्रिशुलीमा खसेको कुरा हामीलाई त थाहै थिएन। उनले भने। दुर्घटनामा परेको गाडीमा चालक मात्रै भएको खुलेसँगै मानवीय क्षति नभएको बुझिएको छ। उक्त गाडीका चालक अर्को गाडीमा नारायणघाट तर्फ लागेको घटनास्थलबाट ट्यांकर चालकले प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीले उनको खोजि गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले गाडी चालक नारायणघाटतर्फ गएको सूचनापछि खोजि भइरहेको बताए। गाडी भने गोताखोरले फेला पारेको थियो। उक्त स्थानमा मानिस फेला नपरेपछि गोताखोर भने फर्किसकेको छ।