डेढ महिनापछि यी स्थानमा तीन दिनसम्म वर्षा हुँदै

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र बंगलादेशको दक्षिण आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले आजदेखि कम्तीमा ३ दिनसम्म नेपालका विभिन्न स्थानमा पानी तथा हिउँ पर्ने सम्भावना देखिएको हो।

डेढ महिनापछि यी स्थानमा तीन दिनसम्म वर्षा हुँदै
काठमाडौं । झन्डै डेढ महिनाको अन्तरालपछि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र बंगलादेशको दक्षिण आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले आजदेखि कम्तीमा ३ दिनसम्म नेपालका विभिन्न स्थानमा पानी तथा हिउँ पर्ने सम्भावना देखिएको हो। महाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको जानकारी दिए। मौसमविद् पुडासैनीका अनुसार गत डिसेम्बर ५ तारिख (मंसिर १९) यता नेपालका कुनै पनि स्थानमा पानी परेको थिएन। ‘अलि लामै समयको ग्यापपछि हिउँदे वर्षा हुन लागेको हो’, उनले भने। आज केही प्रदेशका पहाडी क्षेत्रमा पानी तथा हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। तर यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। महाशाखाको बुलेटिनअनुसार राति देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। तर यस क्रममा राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।