बागलुङको बडिगाड खोलामा मृत भेटिएकी महिलाको परिचय खुल्यो

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका २ खल्टुबोटस्थित बडिगाड खोलामा मृत अवस्थामा फेला परेको महिलाको परिचय खुलेको छ ।

बागलुङको बडिगाड खोलामा मृत भेटिएकी महिलाको परिचय खुल्यो
बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-२ खल्टुबोटस्थित बडिगाड खोलामा मृत अवस्थामा फेला परेकी महिलाको परिचय खुलेको छ । तमानखोला गाउँपालिका -५ घर भइ हाल ढोरपाटन नगरपालिका -१ बुर्तिबाङमा बस्दै आएकी अन्दाजी ४० वर्षीया धनसरा विकको शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान बडिगाड खाेलामा महिलाकाे शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोलामा फेला परेको महिलाको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । मृतकका श्रीमान् शिव श्रीपालीका अनुसार मर्निङवाक जान्छु भनि धनसरा बिहान घरबाट निस्केकी थिइन् । धनसराको एक छोरा र छोरी  छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजकुमार विकको भनाइ छ ।