बढ्यो छडको भाउ

काठमाडौं । घर निर्माणका लागि सुरूमै चाहिने सामग्री हो छड। छडबिना हामी आरसिसी (पक्की) घरको कल्पना पनि गर्न सक्दैनौं। तपाईंहरूमध्ये धेरैलाई घर बनाउँदा कति छड चाहिन्छ र खर्च कति लाग्छ भन्ने जिज्ञासा होला। यहाँ हामीले निर्माण व्यवसायीहरूको सहयोगमा साढे दुईतले घरमा लाग्ने छडको मात्रा…

बढ्यो छडको भाउ
काठमाडौं । घर निर्माणका लागि सुरूमै चाहिने सामग्री हो छड। छडबिना हामी आरसिसी (पक्की) घरको कल्पना पनि गर्न सक्दैनौं। तपाईंहरूमध्ये धेरैलाई घर बनाउँदा कति छड चाहिन्छ र खर्च कति लाग्छ भन्ने जिज्ञासा होला। यहाँ हामीले निर्माण व्यवसायीहरूको सहयोगमा साढे दुईतले घरमा लाग्ने छडको मात्रा र खर्चबारे जानकारी दिएका छौं। घर बनाउन टिएमटी छड प्रयोग हुन्छ। यो छड विभिन्न ब्रान्डमा पाइन्छ। ब्रान्डअनुसार मूल्य पनि फरक हुन्छ। छड विभिन्न आकारका हुन्छन्। छडको आकारले पनि मूल्यमा फरक ल्याउँछ। सामान्य घर बनाउन ८, १०, १२, १६, २० एमएम (मिमी) को छड प्रयोग हुन्छ। त्यस्तै अपार्टमेन्ट, हाउजिङ लगायत ठूला परियोजनामा ३२ एमएम (मिमी) सम्मको छड प्रयोग हुन्छ। पछिल्लो समय संरचना निर्माणको काम सुस्त छ। त्यसैले निर्माण सामग्रीहरूको माग घट्दो छ। मूल्य पनि धेरै हेरफेर भएको छैन। छडको मूल्य भने बढ्दो क्रममा छ। अहिले बजारमा छड प्रतिकिलो ९७ रूपैयाँदेखि एक सय रूपैयाँसम्म पुगेको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका सल्लाहकार अन्सन शाखले जानकारी दिए। एक-दुई दिनमै छडको भाउ किलोमा दुईदेखि तीन रूपैयाँ बढेको छ, उनले भने। अहिले नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली चलाएका उद्योगहरूले बक्यौता महसुल नबुझाएको भन्दै केही उद्योगको बिजुली लाइन काटिदिएको छ। बिजुली काटिएकामध्ये केही छड बनाउने उद्योग पनि छन्। ती उद्योगहरू बिजुली नहुँदा बन्द भएका छन्। उत्पादन भएको छैन। यही कारण अहिले छडको भाउ बढेको हो। अहिले माग बढेको छैन तर सबै आकारका छड पाउन गाह्रो छ, शाखले भने, नयाँ उत्पादन आउन सकेको छैन। भण्डारमा भएको पनि सकियो भन्छन्। उनका अनुसार छडको मूल्य आकार अनुसार दुई प्रकारले निर्धारण गरिएको हुन्छ — आधार दर (बेस रेट) र आधार दरमा थप साढे तीन रूपैयाँ। १०, १२ र १६ एमएम (मिमी) को डन्डीको भाउलाई आधार दर मानिन्छ। त्यस्तै ८, २० र २५ एमएम (मिमी) को डन्डीको भाउमा आधार दरमा थप साढे तीन रूपैयाँ जोडिन्छ। अहिले बजारमा डन्डीको आधार दर अर्थात् १०, १२ र १६ एमएमको किलोको ९७ रूपैयाँ छ। अनि ८, २० र २५ एमएमको डन्डी एक सय रूपैयाँ ५० पैसा छ। यो भाउ ब्रान्ड र कम्पनी अनुसार थोरै फरक हुन्छ, उनले भने।