सर्लाहीको बरहथवामा पुनः कर्फ्यू आदेश

काठमाडौं । पुष २० गते शुक्रवार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर मारिएका बरहथवा नगरपालिका- ६ का जयशंकर साहको परिवारले गरेको प्रदर्शन र बजार तथा यातायात बन्द गर्ने क्रम जारी…

सर्लाहीको बरहथवामा पुनः कर्फ्यू आदेश
काठमाडौं । पुष २० गते शुक्रवार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर मारिएका बरहथवा नगरपालिका- ६ का जयशंकर साहको परिवारले गरेको प्रदर्शन र बजार तथा यातायात बन्द गर्ने क्रम जारी रहेको छ। बरहथवामा प्रदर्शन र हुलदंगा बढ्न नदिन र सार्वजनिक शान्ति सुरक्षा भंग हुन सक्ने भन्दै सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज दिउँसो पौने १ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एक विज्ञप्ती जारी गर्दै बरहथवा नगरपालिकाको पूर्वमा ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतीरचोर्निया पुलसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका हुन् । मृतक साहको शव अझै घटनास्थलमै छ । पीडित परिवारले साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राखेका छन् ।