काठमाडौंमा यो वर्षकै कम तापक्रम

यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षा हुने भएको छ । केही उच्च पहाड र हिमाली भू–भागमा वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंमा यो वर्षकै कम तापक्रम
काठमाडौं । काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको छ । “आज यो वर्ष हालसम्मकै कम तापक्रम छ । बिहान ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको छ,” मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “यद्यपि, यो भन्दा न्यून तापक्रम हुने सम्भावना पनि हुन्छ । जनवरी वर्षकै चिसो महिना हुने भएकाले तापक्रम यो भन्दा घट्ने सम्भावना पनि छ ।” दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो काठमाडौंको तापक्रम ४.५ डिग्री सेल्सियस थियो । यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षा हुने भएको छ । केही उच्च पहाड र हिमाली भू–भागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ । विभागले राति कोसी र मधेस प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।