उदयपुर । समानुपातिकमा प्रदेशसभा १ मा उदयपुरबाट चारजना महिला सांसद छनोट भएका छन् । मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ उदयपुरले चारजना महिला सांसद पाएको हो । गत २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ दुई र प्रदेश तर्फ चार सांसद पाएको उदयपुरले यस पटक भने प्रतिनिधिसभातर्फ रित्तो हुन पुग्यो ।
नेकपा (एमाले) बाट २, नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) बाट १–१ जना महिलाले प्रदेश १ को समानुपातिक सांसद हुने मौका पाएका छन् । सबभन्दा धेरै मत पाएको एमालेले सृजना दनुवार र गीतादेवी रेग्मीलाई सांसद बनाएको छ । कांग्रेसबाठ लिलादेवी राई र माओवादी केन्द्रबाट सम्झना तामाङ ९योद्धा० समानुपातिकमा परेका छन् ।
प्रदेश १ मा खसेको १८ लाख १३ हजार २ सय ६५ मत मध्ये सब भन्दा बढी ६ लाख ६५ हजार ४ सय ६० मत पाएको एमालेले २५ सांसद पठाएको छ । दोश्रो ठूलो मत ५ लाख ६२ हजार ९ सय ७६ पाएको कांग्रेसले १७ जना सांसद बनाउँदा चौथो स्थान प्राप्त माओवादीले १ लाख ८१ हजार ४ सय ४५ मत पाएर ९ जना सांसद पठाएको छ । १ लाख ९२ हजार ५ सय ११ मत पाएर तेश्रो बने पनि राप्रपाले भने उदयपुरलाई समानुपातिकको स्थान दिएको छैन । जसपा, लोसपा लगायत विभिन्न ३६ दलले भाग लिए पनि समानुपातिक सीट कायम गर्न भने असमर्थ रहे ।
२०७४ को निर्वाचनमा उदयपुरले प्रदेश सभातर्फ ३ र प्रतिनिधि सभातर्फ २ गरी ५ जना समानुपातिक सांसद पाएको थियो । एमालेले कला घले र सुनिता चौधरीलाई तथा कांग्रेसले सञ्जाकुमारी दनुवारलाई समानुपातिक सांसद बनाएका थिए । प्रतिनिधिसभा तर्फ कांग्रेसकै प्रमीला राई र लक्ष्मी परियार समानुपातिकमा परेका थिए । यस पटक प्रदेशतर्फ माओवादीले एकजना पठाएको छ । यस अघिका निर्वाचनमा प्रदेशमा कांग्रेस र एमालेबाट दोहोर्याएर समानुपातिक पाए पनि माओवादी प्रदेशमा पुग्न सकेको थिएन ।
प्रदेशसभा १ : समानुपातिकतर्फ उदयपुरबाट चार महिला सांसद
समानुपातिकमा प्रदेशसभा १ मा उदयपुरबाट चारजना महिला सांसद छनोट भएका छन् ।

