काठमाडौं । उद्योगको बिजुली काटिएको विरोधमा जगदम्बा स्टिलका ३५ सय मजदुरले आज (मंगलबार) विद्युत् प्राधिकरणको सिमरास्थित सबस्टेसन रहेको कार्यालय घेराउ गर्ने भएका छन् ।
प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड लाइनबाट बिजुली प्रयोग गरेवापतको पैसा नतिरको भन्दै शुक्रबार लाइन काटिदिएपछि यसको विरोधमा जगदम्बा स्टिलका कर्मचारी आन्दोलनमा उत्रिने भएका हुन् । प्राधिकरणको दावी अनुसार जगदम्बा स्टिलले ४ अर्ब १४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।
जगदम्बा स्टिलका सञ्चालक शाहिल अग्रवालले विद्युत् प्राधिकरणले बिजुली प्रयोग गरेको प्रमाण (टीओडी मिटर) नै नदिइ फर्जी बिल पठाएको र उक्त पैसा नतिर्दा लाइन काटेकोमा असन्तुष्टि जनाउँदै उद्योगका मजदुरले प्राधिकरणको कार्यालय घेर्न जाने घोषणा गरे ।
नेपाल उद्योग परिसंघले सोमबार राजधानीमा आयोजना गरेको डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी शुल्क सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा अग्रवालले प्राधिकरणले उद्योग बन्द गराएर अन्याय गरेकोले यसको बिरोधमा मजदुर अगाडि सरेको पनि बताए ।
दैनिक डेढदेखि २ हजार टन स्टिल उत्पादन गर्ने उद्योग बन्दा हुँदा दैनिक २ देखि साढे २ करोड रुपैयाँ नोक्सान भइरहेको अग्रवालको भनाइ छ ।
‘यो उद्योगले दैनिक ४० देखि ४५ मेगावाट बिजुली खपत गर्दै आएको थियो । उद्योग ठप्प हुँदा समग्र अर्थतन्त्रमा समस्या आउने र भोलिका दिनमा स्टिल अभाव भएर मूल्य बृद्धि हुने हुन सक्छ,’ उनले भने ।
प्राधिकरणको बिजुली काट्ने निर्णयले स्टिल उद्योगमात्रै नभएर सिमेन्ट र धागो पनि बजारमा अभाव हुने र मूल्य वृद्धिको हुन सक्ने भएकोले प्राधिकरणको निर्णय गलत भएको ठहर अग्रवालको छ ।
जगदम्बा स्टिलका ३५ सय कर्मचारी आन्दोलनमा, आज विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्ने
उद्योगको बिजुली काटिएको विरोधमा जगदम्बा स्टिलका ३५ सय मजदुरले आज (मंगलबार) विद्युत् प्राधिकरणको सिमरास्थित सबस्टेसन रहेको कार्यालय घेराउ गर्ने भएका छन् ।

