रूसी सेनामा रहेका थप एक नेपालीको मृत्यु, ४ जना युक्रेनकाे नियन्त्रणमा

हमास इजरायल युद्धका क्रममा हमासले बन्दी बनाएका कञ्चनपुरका विपिन जोशीको उद्धार गर्ने सरकारको प्रयास सफल नहुँदै फेरि अर्को युद्धग्रस्त मुलुकमा ४ नेपाली बन्दी बनाइएको सार्वजनिक भएको हो।

रूसी सेनामा रहेका थप एक नेपालीको मृत्यु, ४ जना युक्रेनकाे नियन्त्रणमा
काठमाडौं । रुसी सेनामा भर्ती भएका थप एक नेपाली युवाको मृत्यु भएको छ भने ४ नेपाली युक्रेनमा बन्दी भएका छन्। रुसी सेनामा कार्यरत कुन्दनसिंह नागलको मृत्यु भएको हो। नागलको मृत्युसँगै रुसी सेनामा भर्ती भएका नेपालीमध्ये मृत्यु हुनेको संख्या ७ पुगेको छ। साथै युक्रेनमा ४ जना नेपालीलाई बन्दी बनाइएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। युक्रेनमा बन्दी बनाइएकाहरुमा बर्दिया राजापुर १ का विवेक खत्री, काभ्रेपलाञ्चोक मन्डनदेउपुर ६ का सिद्धार्थ ढकाल, मोरङ लेटाङ २ का विकास राई र रोल्पा रुन्टीगढी ८ का प्रतीक पुन रहेका मन्त्रालयले बताएको छ। बन्दी बनाइएका आफ्ना नागरिकलाई रिहा गरी नेपाल फिर्ता पठाउन सरकारले युक्रेनी सरकारसँग अनुरोध गरेको छ। बन्दीहरुको रिहाइ र नेपाल फिर्तीका लागि अन्तरराष्ट्रिय रेडक्रस सोसाइटीलगायत अन्य माध्यमबाट कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्रालयले दावी गरेको छ। हमास इजरायल युद्धका क्रममा हमासले बन्दी बनाएका कञ्चनपुरका विपिन जोशीको उद्धार गर्ने सरकारको प्रयास सफल नहुँदै फेरि अर्को युद्धग्रस्त मुलुकमा ४ नेपाली बन्दी बनाइएको सार्वजनिक भएको हो।