काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्ने बताएका छन।
बुधबार दिउँसो सिंहदरबार कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको संयुक्त वार्षिक समीक्षाका निम्ति बोलाइएको बैठकमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन।
बैठकमा प्रधानमन्त्रीले भने, “आज २ वटा मन्त्रालयको मन्त्रालयगत अवस्था के छ, त्यसबारे समग्र स्थितिको जानकारी लिने काम भयो। यो आफैमा महत्वपूर्ण छ। मैले सरकारको नेतृत्व लिएको १ वर्ष पुग्दैछ। मैले क्यालेण्डर नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचेको छु। एक वर्षमा हामीले कति काम ग¥यौं, कहाँ के कति समस्या देखिए, त्यसको गम्भीर अध्ययन गरेर आगामी योजना निर्माण गर्छु।”
“म १० बजे नै कार्यालय आउँछु। नियमित रूपमा छलफल, समीक्षा र मूल्यांकन हुन्छ” प्रधानमन्त्रीले भने, “जनतालाई डेलिभरि दिने कुरा मुख्य हो। जति राम्रो डेलिभरि दिन सकियो, जनतामा राज्यप्रतिको विश्वास त्यति नै बढ्दै जान्छ। हामीले जनतालाई केन्द्रमा राखेर सोच्नुपर्छ, सोचिन्छ।”
“देशको अर्थतन्त्र, राजनीति र समाजको मुख्य हार्मोनी कृषि र भूमि नै हो। कृषिलाई विकासको मुल आधार बनाउन सकेनौं र भूमिको वैज्ञानिक व्यवस्थापन गर्न सकेनौं भने समृद्धिको मुल काम गर्न सक्दैनौं” प्रधानमन्त्रीले भने, “जलविद्युत र उद्योग पनि महत्वपूर्ण छन्। तर, उद्योग पनि कृषिमा आधारित भएर मात्र चल्छन्। तसर्थ, कृषिको उत्पादकत्व बढाउने र भूमिको वैज्ञानिक व्यवस्थापन गर्ने कुरालाई केन्द्रमा राखेर काम गर्नुपर्दछ।”
“मलको कुरा धेरै भयो। मल सधै बाहिरबाट किनेर मात्र हुँदैन, हामी आफैले उत्पादन गर्नेतर्फ सोच्नुपर्छ। कम्पोष्ट मलको पनि अधिकतम उपयोग गर्नुपर्छ” प्रधानमन्त्रीले भने, “यसपटक विगतभन्दा भिन्न ढंगको बजेट, नयाँ ढंगले जाने सोच्दैछु। त्यसका लागि पुस महिनाभित्रै एउटा राम्रो अन्तरक्रिया गर्छौं। नीति कार्यक्रम र बजेटको परम्परागत ढाँचा फेर्छौं, तपाईहरूले पनि त्यसरी नै सोचिराख्नुहोला।”
बैठकको संश्लेषण गर्दै प्रधानमन्त्री प्रचण्डले देश र जनतालाई एक्लाएक्लै परिणाम दिन नसकिने बताउँदै सबैको एकीकृत मेहेनत र अनुभवका आधारमा परिणाम दिनुपर्ने बताए।
बैठकलाई निर्देशित गर्दै प्रधानमन्त्रीले भने, “हामीले नयाँ ढंगले काम गर्नुपर्छ। त्यसका लागि म आफैबाट सुरू गर्छु। म नियमित सिंहदरबार आउँछु। नजिकबाट छलफल गरेर समस्या समाधानको पहल गर्छु। कर्मचारीतन्त्र राम्रोसँग परिचालन गर्न सकियो भने केही समयमा नै राम्रो परिणाम दिन सक्ने देखेको छु। विश्वासका साथ अगाडि बढ्नुस्, अर्को वर्षको नतिजा अझ राम्रो हुनेछ।”
सिंहदरबारमै बसेर सबैलाई टार्गेट दिन्छु, नियमित मूल्यांकन गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्ने बताएका छन। बुधबार दिउँसो सिंहदरबार कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको संयुक्त वार्षिक समीक्षाका निम्ति बोलाइएको…

