ब्युँतियो पल शाहविरुद्धको बलात्कार मुद्दा

जिल्ला अदालत, नवलपुरले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, पोखराले शाहलाई सबै अभियोगबाट सफाइ दिएको थियो।

ब्युँतियो पल शाहविरुद्धको बलात्कार मुद्दा
काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पल शाहविरुद्धको जबर्जस्ती करणी मुद्दा दोहोर्‍याइ हेर्न अनुमति दिएको छ। जिल्ला अदालत, नवलपुरले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, पोखराले शाहलाई सबै अभियोगबाट सफाइ दिएको थियो। नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो। शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। उच्च अदालतले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गर्दै अभियोगबाट सफाइ दिएको थियो। अभिनेता शाहलाई सफाइ दिने उच्चको फैसला त्रुटि रहेको भन्दै सरकारले मुद्दा दोहोर्‍याइ हेर्न दिएको निवेदनमा सर्वोच्चले अनुमति दिएको हो। मंसिरि २२ गते न्यायाधीश सुष्मलाता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उच्च अदालतबाट भएको फैसलामा कानुनको अपव्याख्या र नजिरविपरीत रहेको ठहर गरेको छ। मुद्दामा प्रमाणहरूको यथोचित मूल्यांकन नभएको ठहर सर्वोच्चको छ। सर्वोचचका आदेशमा भनिएको छ, ‘पीडित नावालक रहेको देखिएकोले पीडितको वकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको वकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज. ११ मा गरेको स्वीकारोक्ती समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको मिति २०७९।११।४ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) र (२) को व्याख्यात्मक त्रुट्टी र नेकाप २०७५ अंक ११ निनं १०१३२ समेतमा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भई न्याय प्रशासन ऐन, २०७४ को दफा १२ (१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान देखिंदा प्रस्तुत मुद्दा दोहो(याई हेर्ने अनुमति प्रदान गरिएको छ।’