बोरामा शव भेटिएको १५ दिन बित्यो,  खुलेन अझै परिचय

चितवन । भरतपुरमा बोरामा बाँधेर खोलामा फालेको दुईवटा शव फेला परेको १५ दिन भएको छ । तर शवको सनाखत अझै हुन सकेको छैन । मंसिर ६ गते बुधबार दिउँसो एक बजे भरतपुर महानगरपालिका–१२ पूर्वपश्चिम महेन्द्र राजमार्गको मिलनचोक नजिक केरुंगा खोलाको पुल तल माछा मार्न गएका स्थानीयले शव फेला पारेका…

बोरामा शव भेटिएको १५ दिन बित्यो,  खुलेन अझै परिचय
चितवन । भरतपुरमा बोरामा बाँधेर खोलामा फालेको दुईवटा शव फेला परेको १५ दिन भएको छ । तर शवको सनाखत अझै हुन सकेको छैन । मंसिर ६ गते बुधबार दिउँसो एक बजे भरतपुर महानगरपालिका–१२ पूर्वपश्चिम महेन्द्र राजमार्गको मिलनचोक नजिक केरुंगा खोलाको पुल तल माछा मार्न गएका स्थानीयले शव फेला पारेका थिए । एकजना महिला र एकजना पुरुषको उक्त शव त्यसपछि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । चितवन प्रहरीले प्रविधिको प्रयोग गरेर तयार पारेको मृतक युवती र युवकको स्केच र युवतीले कानमा लगाएको झुम्का । ‘हामीले अनेकौं प्रयास गरेका छौं । तर शव कसको हो पहिचान हुन सकेको छैन,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले भने । जुटको बोरामा राखेर खोलामा फालेको हुँदा उनीहरुको हत्या नै भएको प्रहरीको निचोड छ । सो निष्कर्षका साथ अनुसन्धान अगाडि बढाए पनि शवको पहिचान र सनाखत नभएका कारण अरु कुनै पनि विवरणहरू नखुलेको पण्डितले बताए । प्रहरीले शवको पहिचानका लागि जिल्ला र देशभर मात्रै नभएर छिमेकी देश भारतका प्रहरी इकाइहरूलाई पनि विवरण पठाएको छ । दिवंगत व्यक्तिहरुले लगाएका कपडा, गहाना, ट्याटु जस्ता विवरणले पनि पहिचान खुल्न नसकेपछि प्रविधिको प्रयोग गरेर उनीहरुको स्केच बनाइ सार्वजनिक गरेको डिएसपी पण्डितले बताए । ती स्केचहरू पनि धेरै ठाउँ पठाएको र सामाजिक सञ्जालहरुबाट पनि सार्वजनिक गरेको उनको भनाइ छ । ‘हामीले अधिकतम प्रयास गरे पनि शवको पहिचान खुलेको छैन । हाम्रो प्रयास जारी नै छ,’ उनले भने । अन्दाजी ३० वर्ष जतिका देखिने ती महिला र पुरुषको शव अलग अलग जुटको बोरामा बाँधेर खोलामा फ्याकिएको थियो । शरिरको हुलिया हेर्दा मधेसका बासिन्दा या भारतीय नागरिक पनि हुन सक्ने सम्भावना भएका कारण मधेस क्षेत्रमा धेरै नै सोधखोज गरेको र भारतीय प्रहरीलाई पनि जानकारी दिएको पण्डितले बताए । ‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को प्राविधिक सहयोग लिएका छौं । प्रदेश प्रहरी कार्यालय पनि यो विषयमा खटेको छ । जिल्लाको टिम पनि लागेकै छ । तर भरपर्दो सूचना पाउन सकेका छैनौं,’ पण्डितले भने । यो विषयमा अनुसन्धान गर्दै जाँदा सोधपुछ गर्न हजारजना भन्दा धेरै व्यक्तिलाई कार्यालय ल्याएको उनले बताए । सोधपुछ धेरैजनासँग भए पनि नियन्त्रणमा लिएर कसैलाई हिरासतमा नराखेको उनले बताए । त्यसै गरी घटनास्थलभन्दा केही पर रहेका तीनवटा सिसिटिभी क्यामेराका भिडियो विवरणहरू पनि हेरेको उनले बताए । ‘ती फुटेजहरू दुई पटक हेर्‍यौं । फेरि तेस्रो पटक पनि हेर्ने तयारी छ । यो मात्रै हैन हामीले अनेक क्षेत्रमा हेर्ने बुझ्ने, सोध्ने गरेका छौं । कसैका परिवारभित्रका आफन्त, साथीभाइ, कामदार या चिने जानेका कोही सम्पर्कमा नआएको धेरै दिन भएको छ भने प्रहरीमा जानकारी दिन भनेका छौं,’ प्रवक्ता डिएसपी पण्डितले भने ।