उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जना दोषी ठहर, दुई वर्ष कैद सजाय

उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्योग गरेको आरोप लागेका ७ मध्ये ६ जना दोषी ठहर भएका छन् । उनीहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जना दोषी ठहर, दुई वर्ष कैद सजाय
काठमाडौं । उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्योग गरेको आरोप लागेका ७ मध्ये ६ जना दोषी ठहर भएका छन् । उनीहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणसम्बन्धी मुद्दामा जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलाले फैसला गरेको हो । बुधबार दिनभरि दुवैतर्फका वकिलहरुको बहस सुनेपछि न्यायाधीश खतिवडाले विहिबार फैसला गरेका हुन् । फैसलाले रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावललाइ दोषी ठहर गरेको छ । उनिहरु नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ता हुन् । यस्तै चलाउनेले दाबी गरेको उपचार खर्चवापतको २८ लाख १७ हजार ५९३ रुपैयाँ कसुरदारबाट दामासाहीले असुल गर्ने पनि फैसला भएको छ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते निर्घात कुटपिट गरेका थिए । आफूमाथि आक्रामण भएको केही दिनमा नै चलाउनेले ७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले गत ९ साउनमा यो मुद्दालाई यथाशीघ्र टुंगो लगाउन जिल्ला अदालतलाई आदेश गरेको थियो ।