बुधबार बिहानै मुस्ताङ पुगे प्रधानमन्त्री प्रचण्ड

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहानै मुस्ताङ गएका हुन्।

बुधबार बिहानै मुस्ताङ पुगे प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । बुधबार बिहानै मुस्ताङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरला नाका, मुक्तिनाथ मन्दिर र कागबेनीको अवलोकन गरेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहानै मुस्ताङ गएका हुन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रधानमन्त्री मुस्ताङ पुगेका प्रतिनिधिसभा सांसद देवेन्द्र पौडेलले जानकारी दिए । प्रधानमन्त्रीले मुस्ताङ भ्रमणका क्रममा कोरलानाका र गत साउनको बाढीले क्षति पुगेको कागबेनीको हवाई निरीक्षण गरेका छन्। प्रचण्डले हालै गरेको चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ वटा व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो। चार वर्षदेखि बन्द रहेको कोरलानाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुमतिपत्र वितरण गरिएको छ। प्रधानमन्त्री दाहालसमक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्याबारे छलफल गर्ने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र मुस्ताङका इन्चार्ज कपिल लामाले जानकारी दिए। प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरणमन्त्री डा।वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिंखडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायत सहभागी छन्।