काठमाडौंं । कुनै समय नेपालमा लगानी ल्याउने धनाड्य प्रवासी नेपालीको संगठन भनेर चिनिएको तर, हालैका वर्षहरुमा प्रवासी नेपालीको हित संरक्षण गर्न चुकेको, गत अधिवेसनमा त नेपाली राजनीतिक दलकै झल्को दिनेगरि तीन, तीन जना अध्यक्ष बनाएकोजस्ता आरोप झेलिरहेको गैर आवासीय नेपाली संघको (एनआरएनए) चुनावी अधिवेशन सुरु भएको छ ।
सामान्यतया हरेक वर्ष संघ स्थापना दिवसको दिन अक्टोबर ११ को सेरोफेरोमा हुने एनआरएन सम्मेलन यसपटक दसैं ढिला भएको कारण अक्टोबर १७ (असोज ३०) बाट सुरु हुदैछ । असोज ३० देखि कात्तिक ३ गतेसम्म चल्ने अधिवेसनले यसपटक नयाँ नेतृत्व पनि चुन्नेछ ।
असोज ३० गते देखि कात्तिक ३ गतेसम्म काठमाडौंमा हुने एनआरएनएको महाधिवेशनमा वर्तमान अध्यक्ष बद्री केसी र रबिना थापा तथा उपाध्यक्षहरु महेश श्रेष्ठ र राजेन्द्र प्रसाद (आरके) शर्माले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् । साथै, ६ उपाध्यक्ष पदको लागी १८ जनाको उम्मेद्वारी परेको गैर आवासीय नेपाली संघ, निर्वाचन समितिको कार्यालय, काठमाडौंले जनाएको छ ।
एक अध्यक्षको पदको लागी मैदानमा चारजना देखिए पनि विगतका केहि वर्ष झैं यसपटक पनि एनआरएनएको चुनावमा नेपाली राजनीतिक दल निकै हाबी हुने देखिएको छ । गत चुनावमा पनि राजनीतिक दल हाबी भएकै कारण दुई वर्षे कार्याकालका लागी तीनजना अध्यक्ष बनाइएको थियो ।
त्यसैले यसपटक पनि एनआरएनलाई राजनीतिबाट मुक्त बनाउने भनिएपनि काँग्रेस, एमाले र माओवादीबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको सहभागिहरु बताउँछन् ।
चुनावमा होमिएका आर के शर्मा माओवादी समर्थित, महेश श्रेष्ठ र रबिना थापा काँग्रेस र बद्री केसी एमाले समर्थित हुन् । आर के शर्मा माओवादी समर्थित भएपनि उनको प्यानलमा वर्तमान गठबन्धन सरकारका कारण करिब ६० प्रतिशत उम्मेदवार काँग्रेस समर्थित रहेका छन् । बाँकी ४० प्रशितमा अधिकांश माओवादी र केही छिटफुट एमालेका रहेका छन् ।
चितवनका शर्मालाई पूर्व अर्थमन्त्री जनार्दन शर्माको निकै ठूलो साथ र सहयोग रहेको बताइएको छ ।
यसैगरि, महेश श्रेष्ठको समूहमा अधिकांश उम्मेदवार काँग्रेस समर्थित रहेका छन् । केही माओवादीका पनि रहेका छन् ।
बद्री केसीको समूहमा करिब ८० प्रतिशत नेकपा एमाले समर्थित रहेका छन् भने बाँकी केही काँग्रेस र माओवदी रहेका छन् ।
शर्मा कतारमा व्यवसाय गर्दै आएका छन् भने केसी रुसमा र श्रेष्ठ जापानमा व्यवसाय गर्दै आएका छन् । यसैगरि, महासचिवका पदका दुबै प्रतिस्पर्धी यसपटक अमेरिकाबाट रहेका छन् ।
अध्यक्षका उम्मेदवार श्रेष्ठले महासचिवका उम्मेद्वारद्वय गौरीराज जोशी र बुद्धिसागर सुवेदी कसलाई साथ दिने हुन् र बाँकी रहेका एक जनालाई कसले साथमा लिने हुन् त्यसले चुनावको परिणाममा ठुलै परिवर्तन ल्याउने आंकलन एनआरएन प्रतिनिधिहरुको छ ।
दुई वर्षे कार्यकाल हुने अध्यक्ष एक, उपाध्यक्ष ६, महिला उपाध्यक्ष एक, युवा उपाध्यक्ष एक, महासचिव एक, उप महासचिव दुई, सचिव ६, महिला सचिव एक, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष तीन, महिला सहकोषाध्यक्ष एक, महिला संयोजक एक, युवा संयोजक एक, प्रत्येक क्षेत्रमा एक गरी क्षेत्रीय संयोजक ६, अफ्रिका क्षेत्रमा दुई र अन्य क्षेत्रमा तीन गरी क्षेत्रीय उपसंयोजक १७, क्षेत्रीय महिला संयोजक ६ जना, क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय युवा संयोजक ६ तथा दोस्रो पुस्ताको गैर आवासीय नेपाली संयोजक एक गरि कार्यसमितिमा ७४ जना जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि चुनाव हुने गैर आवासीय नेपाली संघ, निर्वाचन समितिको कार्यालय, काठमाडौंले जनाएको छ । यी पदका लागी १२० जनाको उम्मेद्वारी परेको छ ।
एनआरएनएको चुनावमा आजदेखि शुरु, कसले मार्ला बाजी ?
कुनै समय नेपालमा लगानी ल्याउने धनाड्य प्रवासी नेपालीको संगठन भनेर चिनिएको तर, हालैका वर्षहरुमा प्रवासी नेपालीको हित संरक्षण गर्न चुकेको, गत अधिवेसनमा त नेपाली राजनीतिक दलकै झल्को दिनेगरि तीन, तीन जना अध्यक्ष बनाएकोजस्ता आरोप झेलिरहेको गैर आवासीय नेपाली संघको (एनआरएनए) चुनावी अधिवेशन सुरु भएको छ ।

