इजरायल हमास युद्ध : गाजामा २२०० बढीको मृत्यु

एक सातादेखि चलिरहेको इजरायल हमास युद्धमा मारिनेको संख्या बढिरहेको छ। हालसम्म दुवैतर्फ गरेर ३ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ।

इजरायल हमास युद्ध : गाजामा २२०० बढीको मृत्यु
काठमाडौं । एक सातादेखि चलिरहेको इजरायल हमास युद्धमा मारिनेको संख्या बढिरहेको छ। हालसम्म दुवैतर्फ गरेर ३ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ। गाजा क्षेत्रमा नियन्त्रण जमाएको हमास विद्रोहीले गत शनिवार इजरायलमा अप्रत्याशित आक्रमण गरेको थियो। जवाफमा इजारयलले गाजापट्टीमा भिषण आक्रमण गरिरहेको छ। इजरायलले गाजामा नाकाबन्दी लगाउनुको साथै उत्तरी गाजा क्षेत्र खाली गर्नसमेत भनिसकेको छ। इजरायलले गाजामा जमिन, समुद्र र आकाशबाटै आक्रमण गर्ने योजना बनाएको छ। आक्रमणको सरुवात हमास विद्रोहीले गरे पनि इजरायल प्यालेस्टाइनप्रति आक्रामक देखेको भन्दै आलोचना पनि भइरहेको छ। प्यालेस्टाइनको समर्थनमा विश्वका कयौं देशमा प्रदर्शन पनि भइरहेको छ। शनिबार लन्डनमा हजारौं मानिस प्यालेस्टाइनको स्वतन्त्रताको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनम हमासको समर्थन गर्न भने रोक लगाइएको थियो। प्रदर्शनका क्रममा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमासमेत लिएको थियो। फ्रान्स लगायत केही देशले भने प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्न रोक लगाएको छ। अलजजिराका अनुसार हमासको आक्रमणपछि इजरायलमा १ हजार ३०० जनाको मृत्यु भएको छ भने ३ हजार भन्दा बढी घाइते भएका छन्। यता, इजरायलको आक्रमणपछि गाजापट्टीमा भने २ हजार २०० भन्दा बढीको मृत्यु भएको छ। वेस्ट बैंकमा ५० भन्दा बढी मारिएका छन्। वेस्ट बैंक र गाजापट्टीमा गरेर १० हजार बढी घाइते भएका छन्।