भोलिदेखि बुधबारसम्म पानी पर्ने सम्भावना

बुधबार अपराह्नसम्म देशका विभिन्न भूभागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

भोलिदेखि बुधबारसम्म पानी पर्ने सम्भावना
काठमाडौं । बुधबार अपराह्नसम्म देशका विभिन्न भूभागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल देशको बागमती, मधेसका पूर्वी भूभाग र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। आइतबार अपराह्नपछि मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिने हुँदा बुधबारसम्म बदली, छिटपुटदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। ‘हाल बागमती, मधेसका पूर्वी भूभाग र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। आजै अपराह्नपछि पश्चिमी वायुको प्रभाव देखिने सम्भावना छ। त्यसो हुँदा सुदूरपश्चिम, कर्णाली, गण्डकी आदि भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ,’ मानन्धर भनिन् ।’ उनले बुधबार अपराह्नपछि मनसुनमा सुधार देखिने र त्यसपछि विभागले बुलेटिनमार्फत् मनसुन बाहिरिएको जानकारी दिने उनले बताइन्। मनसुन बाहिरिँदै जाँदा देशका केही भूभागमा घाम लागेको छ। धानलगायत बाली भित्र्याउने चटारो पनि कृषकहरूमा देखिन्छ। मौसमविद् मानन्धरले बुधबारसम्म बाली काट्न नहतारिन आग्रह गरिन्। ‘हिजोआज नै काटिसक्नु भएको छ भने भित्र्याइहाल्नु होला। भित्र्याउन नसकिए पानी नपर्ने ठाउँमा राख्नुहोला। काट्नुभएको छैन भने बिहीबारबाट घाम लाग्ने हुँदा त्यसपछि भित्र्याउन लाग्नु भए हुन्छ,’ उनले भनिन्। अर्का मौसमविद् विनोद पोखरेलले पश्चिमी वायुको प्रभावले सोमबारदेखि बुधबारसम्म वर्षाको सम्भावना रहेको बताए।