इजरायलबाट स्वदेश आइपुगे २५४ नेपाली

इजरायलमा अर्न एण्ड लर्न कार्यक्रममा गएका विद्यार्थीहरुसहित स्वदेश फर्कन लागेका नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए ।

इजरायलबाट स्वदेश आइपुगे २५४ नेपाली
काठमाडौं । इजरायलमा रहेका २५४ नेपाली नागरिक शुक्रबार बिहान स्वदेश आइपुगेका छन् । नेपाल एयरलाइन्सको विमानबाट उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको हो । इजरायलमा अर्न एण्ड लर्न कार्यक्रममा गएका विद्यार्थीहरुसहित स्वदेश फर्कन लागेका नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए । स्वदेश आएपछि त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले ब्रिफिङ गर्दै आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले पहल गर्ने जानकारी दिए । उनले नियमित फ्लाईटहरु मार्फत् पनि ल्याइने जानकारी दिए । ५०३ जनाले आउन आवेदन दिएकोमा अहिले २५४ जनालाई ल्याइएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए । स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट (नेपाली समय ५ बजेर १७ मिनेट) मा नेपाली विमानले उडान भरेको थियो । उद्धारका लागि बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । सरकारले स्वेदश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो । तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरुलाई नेपाल ल्याइएको हो ।