चैनपुर । बझाङमा भूकम्पबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार मंगलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो। प्रहरी टोली घटनास्थलमा गएको छ।
बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन्। २ जना उपचारपछि घर फर्किएका छन् भने ९ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेमा जयपृथ्वी नगरपालिका-११ की ७ वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका-७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका-७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा-३ की १५ वर्षीया आँसु रोकाया, मष्टा-१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका-६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका-३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका-१० की २० वर्षीया रमा परियार रहेका छन्।
प्रहरीका अनुसार भूकम्पबाट बझाङमा १ सय ३५ संरचनामा क्षति पुगेको छ। प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ।
केदारस्यूँमा १, वित्थडचिरमा २ तथा बुङ्गल नगरपालिकामा ४ घर पूर्णरूपमा क्षति भएका छन्। जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
त्यस्तै, बाजुरामा २ जना घाइते भएका छन् भने ४ वटा सरकारी भवनमा आंशिक क्षति पुग्नुका साथै एउटा घर पूर्ण र ९ वटा घरहरुमा आंशिक क्षति पुगेको छ।
डोटीमा ६ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ भने एउटा घरमा पूर्ण र अर्को एउटामा आंशिक क्षति पुगेको छ।
यता, अछाममा भूकम्पका कारण ५ जना घाइते भएका छन्। यहाँ एउटा सरकारी भवन पूर्ण रुपमा क्षति भएको छ भने ५ वटामा आंशिक क्षति पुगेको छ। यस्तै, एउटा घरमा पूर्ण र ३ वटा घरहरु आंशिक रुपमा क्षति भएको छ।
यसैगरी, बैतडीमा १ जना घाइते भएका छन्। यहाँ एउटा सरकारी भवन आंशिक रुपमा क्षति हुँदा २ वटा घरहरुमा पूर्ण रुपमा क्षति पुगेको छ।
त्यसैगरी, दार्चुलामा एउटा सरकारी भवन आंशिक रुपमा क्षति हुँदा डडेलधुरामा एउटा घर पूर्ण र ४ वटा घरहरु आंशिक रुपमा क्षति भएको छ। रासस
बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, करिब २ सय भौतिक संरचना भत्किए
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार मंगलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो। प्रहरी टोली घटनास्थलमा गएको छ।

