नेपालको शानदार जीत, मंगोलिया ४१ 'रनमै अलआउट'

नेपालले दिएको ३१५ रनको विशाल लक्ष्य पछ्याएको मंगोलियामा १३.१ ओभरमा ४१ रन मात्रै बनाएर अलआउट भयो । नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी २७३ रनको जीत हात पारेको छ ।

नेपालको शानदार जीत, मंगोलिया ४१ 'रनमै अलआउट'
काठमाडाैं । १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङगोलियाविरुद्ध नेपालले कीर्तिमानी जीत हात पारेको छ । नेपालले दिएको ३१५ रनको विशाल लक्ष्य पछ्याएको मंगोलियामा १३.१ ओभरमा ४१ रन मात्रै बनाएर अलआउट भयो । नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी २७३ रनको जीत हात पारेको छ । मंगोलियाका दावासुरेनले १० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि चेक रिपब्लिकले सन् २०१९ मा टर्कीविरुद्ध सर्वाधिक २५७ रनको फराकिलो जीत हात पारेको थियो । अब यो रेकर्ड नेपालको नाम आएको छ । मंगोलियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले २, करण केसीले २ ,अविनाश बोहराले २ र दिपनेद्र सिंह ऐरी, सोमपाल कामी र कुशल भुर्तेलले एकरएक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपाललले निर्धारित २० ओभरमा ३१४ रनको कीर्तिमानी स्कोर खडा गरेको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाए । उनले ५० बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १३७ रन बनाएका थिए । यस्तै कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन बनाए । उनले २ चौका र ६ छक्का प्रहार गरे । दिपेन्द्र सिंह ऐरीले मात्रै १० बलमा ५२ रन बनाए । उनले ८ छक्का प्रहार गरे । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ ।