काठमाडौं। पेट्रोलियम पदार्थ आयातको परिमाण घटेको छ । चालु आर्थिक वर्षको साउनमा भन्दा भदौमा आयात घटेको हो। गत साउनमा ७६ हजार ७१६ किलोलिटर डिजल आयात भएकोमा भदौमा ७४ हजार ६५६ किलोलिटर आएको छ।
एक महिनाको अन्तरमा २ हजार ६० किलोलिटरले डिजलको आयात घटेको हो। दुई महिनामा कुल १ लाख ५१ हजार ३७२ किलोलिटर डिजल आयात भएको भन्सार विभागले जनाएको छ।
गत साउनमा ५६ हजार ९०१ किलोलिटर पेट्रोल आयात भएको थियो। यो भदौ महिनामा भने १६२० किलोलिटर घटेर ५५ हजार २८१ किलोलिटर आयात भएको छ।
विभागका अनुसार पेट्रोल यो आर्थिक वर्षको दुई महिनामा कुल १ लाख १२ हजार १८२ किलोलिटर आयात भएको छ।
तर हवाई इन्धनको आयात भने भदौमा महिना बढेको छ। विभागका अनुसार यो २१८० किलोलिटरले वृद्धि भएर १४ हजार ७२८ किलोलिटर हवाई इन्धन आयात भएको छ। गत साउनमा १२ हजार ५४८ किलोलिटर आयात भएको थियो।
यो दुई महिनामा कुल २७ हजार २७६ किलोलिटर हवाई इन्धन आयात भएको विभागले जनाएको छ।
यसैगरी एलपी ग्यासको आयातमा पनि गिरावट आएको छ। विभागका अनुसार यो महिना २९ लाख ९१ हजार ४१० केजीले घटेर कुल ४ करोड २६ लाख ३९ हजार ९७० केजी आयात भएको छ। गत साउनमा ४ करोड ५६ लाख ३१ हजार ३८० केजी एलपीजी ग्यास आयात भएको थियो।
विभागका अनुसार यो दुई महिनामा एलपी ग्यास ८ करोड ८२ लाख ७१ हजार ३५० केजी आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार भदौमा पेट्रोलियम पदार्थ मात्रै १९ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ बराबरको आयात भएको छ। गत साउनमा भने १७ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ बराबरको आयात भएको थियो।
यो दुई महिनामा पेट्रोलियम पदार्थको आयातमा मात्र ३७ अर्ब २९ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ। साथै सरकारले यस बाट १४ अर्ब २४ करोड ४२ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।
पेट्रोलियम पदार्थको आयात घट्यो
पेट्रोलियम पदार्थ आयातको परिमाण घटेको छ । चालु आर्थिक वर्षको साउनमा भन्दा भदौमा आयात घटेको हो। गत साउनमा ७६ हजार ७१६ किलोलिटर डिजल आयात भएकोमा भदौमा ७४ हजार ६५६ किलोलिटर आएको छ।

