दसैं र तिहारलाई आयो नयाँ नोट, प्रतिव्यक्तिले १८ हजार ५ सयसम्म साट्न पाइने

यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ ।

दसैं र तिहारलाई आयो नयाँ नोट, प्रतिव्यक्तिले १८ हजार ५ सयसम्म साट्न पाइने
काठमाडौं । यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले बताए । ‘कहाँ के कति नोट उलपब्ध छ ? बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको मागअनुसार के कति थप घट गर्नुपर्ने हो भनेर अहिले राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोटकोष सुविधा लिएका बैंकसँग नयाँ नोटको विवरण मागेका छौं,’ उनले भने, ‘नोटको विवरण संकलन भइसकेपछि घटस्थापनाको आसपासदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुरु गर्छौं ।’ अघिल्ला दुई वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिन लागेको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एक एक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ । राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले यही असोज अन्तिम साता (घटस्थापना आसपास) देखि सूचना नै जारी गरेर सर्वसाधारणलाई नयाँ नोट सटही गरिने शाक्यले बताए । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै यस वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्न आउनेलाई क्यूआर कोडअन्तर्गत भुक्तानी गर्न आग्रह गर्ने भएको छ । ‘क्यूआर कोडमार्फत भुक्तानी गर्नेबाहेकले नयाँ नोट सटही सुविधा पाउँदैनन् भन्ने होइन, सबैले पाउँछन्,’ उनले भने, ‘तर सम्भव भएसम्म क्यूरआरमार्फत भुक्तानी गर्न हामीले आग्रह गर्छौं ।’