बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज हाङजाओ आइपुगेका छन् । उनलाई चीनमा भब्य स्वागत गरिएको छ ।
चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङ लगायत दुई देशका उच्चस्थ पदाधिकारीहरुको उपस्थिति थियो ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै अमेरिकाको न्यूयोर्कवाट चीन आइ पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड आजै चिनियाँ महामहिम राष्ट्रपति सि चीनफिङले आयोजना गरेको दिवा भोजमा सहभागी भएका छन् ।
उनी हाङ्जाओमा आयोजित १९औं एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । हाङ्जाओमै प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।
भोली प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी बेइजिङ जाने कार्यक्रम छ । बेइजिङमा उनले सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
त्यसैगरी राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ। यसैगरी चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनुका साथै चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्डले २६ सेप्टेम्बरमा चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुका साथै त्यसपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ।
यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमण तालिका
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज हाङजाओ आइपुगेका छन् । उनलाई चीनमा भब्य स्वागत गरिएको छ ।

