आमा-छोरीको हत्या : पूर्वप्रेमीकासँग सहमतिमै बनाएका थिए अभियुक्तले अश्लील भिडिओ

३० भदौ बिहान त्रिवेणी गाउँपालिका–२ थापा टोलकी २९ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी रितु थापाको आफ्नै घरको कोठामा जलेको अवस्थामा फेला परेको थियो ।

आमा-छोरीको हत्या : पूर्वप्रेमीकासँग सहमतिमै बनाएका थिए अभियुक्तले अश्लील भिडिओ
सुर्खेत । सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको आमा–छोरीको हत्या भएको पुष्टि भएको छ । हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ । ३० भदौ बिहान त्रिवेणी गाउँपालिका–२ थापा टोलकी २९ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी रितु थापाको आफ्नै घरको कोठामा जलेको अवस्थामा फेला परेको थियो । ग्यास लिक भएर आगलागी हुँदा जलेर आमा छोरीको मृत्यु भएको भनिएपनि अनुसन्धानबाट हत्या गरिएको पुष्टि भएको हो । हत्यामा संलग्न सिद्धकुमाख गाउँपालिका–२ खानीगाउँका २८ वर्षीय कर्णबहादुर बस्नेत पक्राउ परेका छन् । कर्णबहादुरले हत्या गर्नुको प्रमुख कारण रेवतीको विवाह हुनुभन्दा पहिला उनीसँग प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ । प्रहरी समक्ष कर्णले दिएको बयानअनुसार रेवतीसँग बस्नेतको करिब ७ वर्ष अगाडिदेखि चिनचान थियो । कुराकानी हुँदै जाँदा उनीहरु गहिरो प्रेम सम्बन्धमा परे । प्रेम सम्बन्धपछि उनीहरुबीच पटक–पटक शारीरिक सम्बन्धसमेत स्थापित भएको बस्नेतले बयान दिएका छन् । साथै, दुबैबीच विवाह गर्ने सम्मको कुरा भएको अभियुक्तले बताएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नवीन कार्कीले बताए । उनका अनुसार शारीरिक सम्बन्धनको क्रममा दुबैको सहमतिमा अश्लील तस्वीर र भिडिओसमेत बनाइएको अनुसन्धानबाट खुलेको छ । घटना विवरणमा भनिएको छ,‘गहिरो सम्बन्ध चलिरहेकै बेला कर्णबहादुर रोजगारको सिलसिलामा सन् २०१८ मा दुबई गएका थिए । त्यहाँ रहेकै बेला रेवतीले त्रिवेणी गाउँपालिका–२ का शुकलाल थापासँग बिहे गरिन्।’ रेवतीको विवाह गरेको विषय कर्णबहादुरले ठुलो धोकाका रुपमा लिए । उसो त कर्णबहादुर पनि विवाहित नै थिए । विवाहित भएर पनि रेवतीसँग दोस्रो विवाह गर्ने सहमति भएको कर्णले बयान दिएका छन् । रेवतीको विवाहपछि पनि दुई वर्ष अगाडि कर्णसँग विभिन्न माध्यमबाट कुरा भइरहेको देखिन्छ । ‘उक्त फोटो भिडिओकै कारण रेवतीको पतिसँग समेत ठुलो झगडा भई सम्बन्धमा केही समय समस्या आएको देखिन्छ,’ डीएसपी कार्की भन्छन्,‘पछि सोही विषय बढ्दै जाँदा ८ महिना अगाडिबाट कर्णले दुबईमा नै रहेका बेला नेपाल फर्कनासाथ हत्या गर्ने योजना बनाएको देखिन्छ ।’ २६ भदौमा दुबईबाट नेपाल आएलगत्तै काठमाडौँबाट खानीगाउँ घरमा आएर दुई दिन बसेका थिए उनी । २९ गते श्रीनगर बजारसम्म गाडीमा आएका उनले त्यहीँ नै पेट्रोल, सलाई किनेका थिए । डीएसपी कार्कीका अनुसार त्यही साँझ गाउँमा पुगेपनि सडक र जंगलमा टहलिँदै रातको १० बजेतिर मात्र रेवतीको घरमा पुगेका थिए । घरभित्र छिरेर सुरुमा रेवतीको घाँटी कपडाले कसेर लडाएका थिए । त्यसपछि बीभत्स तवरबाट शरीरमा पेट्रोल छर्केर आगो लगाइदिएका थिए । कर्णबहादुर घटना घटाएपछि नजिकैको कसैको घरमा बास बसेको र बिहान सबेरै आफ्नो घर सिद्धकुमाखतर्फ फर्किएको अनुसन्धानबाट खुलेको छ । रेवतीका श्रीमान् शुकबहादुर थापा भने रोजगारीका लागि भारतमा थिए । घटनापछि भने उनी घर फर्किएका छन् ।