प्रशासकीय अधिकृत नहुँदा इलाका प्रशासन कार्यालय बुर्तिबाङको सेवा ठप्प

कुँवर विदामा बसेपछि जिल्ला प्रशासन कार्यालय बागलुङबाट खटाइएका प्रशासकीय अधिकृत बाबुराम पुरी जिल्ला फर्किपछि एक सातादेखि कार्यालयको सेवा पूर्ण रुपमा ठप्प भएको छ ।

प्रशासकीय अधिकृत नहुँदा इलाका प्रशासन कार्यालय बुर्तिबाङको सेवा ठप्प
काठमाडाैं । इलाका प्रशासन कार्यालय बुर्तिबाङका कार्यवहाक प्रमुख लोकबहादुर कुँवर विदेश भ्रमणमा गएपछि कार्यालयको सेवा प्रभावित भएको छ । साउन ३१ गते जिल्ला प्रशासन कार्यालय बागलुङको स्वीकृतिमा ३ महिना विदा लिएर कुँवर बेलजियम गएपछि प्रशासनबाट प्रदान हुँदै आएको सेवा प्रभावित भएको हो । कुँवर विदामा बसेपछि जिल्ला प्रशासन कार्यालय बागलुङबाट खटाइएका प्रशासकीय अधिकृत बाबुराम पुरी जिल्ला फर्किपछि एक सातादेखि कार्यालयको सेवा पूर्ण रुपमा ठप्प भएको छ । इलाका प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएको नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरु ठप्प भएका हुन् । सेवा ठप्प हुँदा टाढाबाट सेवा लिन पुगेका स्थानीयहरु फर्किदै आएका छन् । ‘संचित विदा मागेपछि हामीले विदा दिएका हौं,’ प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भनिन्, ‘अस्थायी रुपमा कर्मचारीको व्यवस्थापन गरेका थियौं तर, जिल्लामा कर्मचारी अभाव भएपछि उहाँ पनि फिर्ता आउनुभएको छ । केही दिनपछि फेरि पठाउँछौं ।’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार गृहमन्त्रालयमा लिखित जानकारी गराएपनि अहिलेसम्म कर्मचारीको व्यवस्थापन भएको छैन । यता, गृहमन्त्रालयका सहसचिव एवम् प्रशासन महाशाखाका प्रमुख केदारनाथ शर्माले कर्मचारी अभाव हुँदा पठाउन नसकिएको बताए । 'अहिले गृहमन्त्रालयमा शाखा अधिकृतको दरबन्दी ५० भन्दा बढी खाली रहेको छ, यसअघि पर्यटन मन्त्रालयबाट आउनुभएका एकजनालाई त्यहाँ खटाएका थियौं, उहाँ त्यहाँ पुग्नुभएन ' उनले न्यूज खरीसँग भने । केही दिन सेवा रोकिएको भन्ने जानकारी प्राप्त भएको बताउँदै जिल्ला प्रशासन कार्यालय बागलुङबाट कर्मचारी पठाएर सेवा प्रवाह गरिने उनले बताए । ‘जिल्ला प्रशासन कार्यालयले कर्मचारी पठाइदिनुस् भन्नुभएको छ,’ सहसचिव शर्माले भने, ‘आज वा भोलि नै जिल्लाबाटै कर्मचारी व्यवस्थापन गरेर रोकिएको सेवा सुचारु हुन्छ ।’ कार्यालयमा हाल लेखापाल, कम्युटर अपरेटर र कार्यालय सहयोगी मात्र रहेका छन् । कार्यालयमा हाजिर नभइ कर्मचारीले मिलाउछन् सरुवा इलाका प्रशासन कार्यालय बुर्तिबाङमा खटाइएका कर्मचारी केही महिनामै सरुवा भएर जाँदा सेवा प्रभावित हुँदै आएको छ । गृहमन्त्रालयले खटाएका कर्मचारी लामो अवधि नबस्दा सेवा प्रभावित हुँदै आएको हो । गृहमन्त्रालयका अनुसार खटाइएका कर्मचारी विभिन्न कारण देखाउँदै सरुवा हुने गरेको छन् । इलाका प्रशासन कार्यालय बुर्तिबाङका अनुसार केही कर्मचारी कार्यालय नपुग्दै सरुवा मिलाउने गरेका छन् । केही समयअघि गृहमन्त्रालयले दिपेन्द्र रेग्मीलाई इलाका प्रशासन कार्यालय बुर्तिबाङमा खटाएपनि उनी त्यहाँ नपुगि अन्य ठाउँमा सरुवा मिलाए । उनी जस्तै कयैन कर्मचारी खटाएको ठाउँमै नपुगी पहुँचका आधारमा अन्य ठाउँमा सरुवा मिलाउने गरेका छन् । स्रोतका अनुसार नवराज भण्डारी करिब ६ महिना, सन्तोष शर्मा ५ महिना, अमृत सुवेदी ३५ दिन इलाका प्रशासन कार्यालयमा बसेका थिए । विकट ठाउँ, परिवारिक समस्यालगायतका कारण देखाउँदै कर्मचारी खटाएको ठाउँमा लामो समय बस्न नमान्ने गरेको गृहमन्त्रालयका एक अधिकारीले बताए ।