भारतले चन्द्रमामा यान अवतरण गराएर रच्यो इतिहास

चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु रहेको र जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् । चन्द्रयान–३ सफलतापूर्वक अवतरण गराएपछि भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देशसमेत बनेको छ ।

भारतले चन्द्रमामा यान अवतरण गराएर रच्यो इतिहास
काठमाडौं । चन्द्रमाको दक्षिणी ध्रुवनजिक अवतरण गर्ने पहिलो राष्ट्र बनेर छिमेकी राष्ट्र भारतले इतिहास रचेको छ । भारतको चन्द्रयान–३ को आज चन्द्रमामा अवतरण गराएर भारतीय वैज्ञानिकहरूले नयाँ इतिहास रचेका हुन् । चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु रहेको र जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् । चन्द्रयान–३ सफलतापूर्वक अवतरण गराएपछि भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देशसमेत बनेको छ । चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने अमेरिका, चीन र रूसपछि भारत चौथो देश बनेको हो । भारतीय अन्तरिक्ष एजेन्सी इसरोको बेङ्गलोरस्थित मुख्यालयका अधिकारीहरूले चन्द्रयान–३ मार्फत् पठाइएको ल्याण्डर मोड्युल विक्रमले आफ्नो अवतरण स्थलतर्फ आफ्नो ठाडो अवतरण सुरु गरेपछि ताली बजाएर खुशी मनाएका थिए । ‘भारत चन्द्रमामा पुगेको छ,’ जोहानेसबर्गमा आयोजित १५औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स (ट्वीटर) मार्फत् उक्त जानकारी दिएका छन् । विक्रमको चन्द्रमाको कक्षबाट अवतरणको यात्रा १५० मिटर, त्यसपछि १३० मिटर, ५० मिटर र चन्द्रमाको सतहमा पुग्नुअघि चन्द्रमानजिक आइपुग्दा तह अनुसार यसको गति घट्दै गएको थियो । विक्रम ल्यान्डरले प्रज्ञान रोभरलाई लिएर चन्द्रमाको सतहमा अवतरण गरेको हो । यो भारतका लागि अन्तरिक्ष यात्राको ठूलो फड्को हो । भारतले पृथ्वीको एक मात्र प्राकृतिक उपग्रहको दक्षिणतर्फ अवतरण गर्ने पहिलो देशको रूपमा रेकर्ड बनाएको छ । भारत र विश्वभरका अरबौं मानिसहरूले बहुप्रतिक्षित कार्यक्रमलाई नजिकबाट नियालिरहेका छन् । विद्यालय र विज्ञान केन्द्रहरू, र सार्वजनिक संस्थानहरू सहित देशभर अवतरणलाई विशेष स्क्रिनिङहरू जडान गरी हेरिएको थियो । इसरोले आफ्नो वेबसाइट, यसको युट्युब च्यानल, फेसबुक र सार्वजनिक प्रसारक डीडी नेसनल टिभीमा लाइभ कार्यहरू उपलब्ध गराएको थियो । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को अवतरण (सफ्ट ल्यान्डिङ) का लागि २३ अगस्ट २०२३ (बुधवार) भारतीय समय १८ः०४ बजेलाई निर्धारण गरेको थियो ।