बाढीले क्षति पुर्‍याएको कागबेनीको पुनःनिर्माण थालियो

गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्‍याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ ।

बाढीले क्षति पुर्‍याएको कागबेनीको पुनःनिर्माण थालियो
काठमाडौं । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्‍याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका स्थानीयवासीलाई गाँस र बासको समस्या भएको छ । घरसहित बन्दोबस्तका सामान खोलाले बगाएपछि समस्यामा परेका कागबेनीवासीको सहयोगका लागि गण्डकी प्रदेश सरकार, विभिन्न दातृ निकाय र मनकारी व्यक्ति जुटिरहेका छन् भने मुस्ताङवासीले विपत्तिमा परेका कागबेनीवासीको व्यवस्थापन र पुनःनिर्माणमा श्रमदान गरिरहेका छन् । गण्डकी प्रदेश सरकारले बाढीपीडित बनेका नागरिकलाई राहत सामग्रीसहित उद्धार, उपचार र पुनःस्थापनाको काम गर्न सुरु गरेको छ । घरबारविहीन भएका कागबेनीवासीको दैनिकी असहज बनेपछि भत्किएको संरचना व्यवस्थित गर्न मेसिन, उपकरण तथा सवारीसाधनका लागि प्रदेश सरकारले इन्धनलगायतका सामग्री पठाएर काम गरिरहेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिए । त्यसैगरी प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङ्केट पठाउने, बाढीपहिरो क्षेत्रमा हुनसक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भू–संरक्षणलगायतका काम गरिरहेको उनले बताए । कागबेनीको पुनःनिर्माणका लागि मुस्ताङका विभिन्न गाउँ, बस्ती, क्लब, स्थानीय समूह, फरक–फरक स्थानीय तह, जिल्ला समन्वय समितिलगायतले काम गरिरहेका अध्यक्ष गुरुङले जानकारी दिए । स्थानीय नागरिकसँगै सुरक्षाकर्मी पनि कागबेनीवासीको पुनःस्थापनाका लागि दैनिकरूपमा खटिरहेका छन् । स्थानीय जनप्रतिनिधिसहित सांसद बसेर बाढीपीडितका लागि गर्न सकिने विकल्पको बारेमा योजना बनाउने र सोहीअनुरुप अघि बढ्ने काम भइरहेका उनले जानकारी दिए । राहत तथा उद्धारमा आ–आफ्नो तह र तप्काबाट सक्दो आर्थिक तथा भौतिक सहयोगका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार मातहतका निकायलगायत सबै सरकारी तथा गैरसरकारी सङ्घसंस्था, देश–विदेशमा रहेका नेपालीहरूमा अनुरोध गरिएको छ ।