संसद्को अवरोध हटाउन बसेको बालुवाटार बैठक निष्कर्षविहीन

संघीय संसद्मा जारी अवरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठक निष्कर्षविहीन भएको छ । क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष एमालेको माग सत्तापक्षले नमानेपछि बैठक निष्कर्षविहीन भएको हो ।

संसद्को अवरोध हटाउन बसेको बालुवाटार बैठक निष्कर्षविहीन
काठमाडौं । संघीय संसद्मा जारी अवरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठक निष्कर्षविहीन भएको छ । क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष एमालेको माग सत्तापक्षले नमानेपछि बैठक निष्कर्षविहीन भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा देखिएको गतिरोध हटाउन सभामुख देवराज घिमिरेल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष एमालेका नेता केपी शर्मा ओली र तीनवटा दलका प्रमुख सचेतक र सचेतकको उपस्थिति थियो । बैठकमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले उच्च स्तरीय छानबिन समिति गठनका लागि प्रधानमन्त्री दाहालले अस्वीकार गरेको बताए । प्रहरी र राज्यका सम्बन्धित निकायले क्विन्टल सुन तस्करीको छानबिन गरिरहेको र उनीहरूलाई विश्वास गर्नुपर्न प्रधानमन्त्रीको भनाइ रहेको र एमालेले भने उक्त छानबिनलाई प्रभावित नपर्ने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्न माग राखेको बताए । एमालेले भने क्विन्टल सुन तस्करीका साथै अन्य प्रकरणको पनि छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव गरेको थियो । त्यसो गर्दा प्रहरी र अन्य निकायको मनोबल गिर्ने भन्दै सरकारले उक्त माग अस्वीकार गरेको हो । बालुवाटारमा सहमति नजुटेपछि सभामुख घिमिरेले २ बजे सचेतकहरूको बैठक बोलाएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक साउन १० यता बस्न सकेको छैन । प्रतिनिधिसभाको बैठक मंगलबार ३ बजेका लागि बोलाइएको छ । पछिल्लो बैठकहरू सूचना टाँसेर स्थगित गरिँदै आएको छ ।