उत्तराखण्डमा पहिरोमा बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुल्यो

बिहीवार राति उत्तराखण्डको रूद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुलेको छ। पहिरोमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो ।

उत्तराखण्डमा पहिरोमा बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुल्यो
काठमाडौं । बिहीवार राति उत्तराखण्डको रूद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुलेको छ। पहिरोमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालीकोट घर भइ गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो । घटनास्थलमै रहेका आफन्तबाट तीन जनाको पहिचान खुलेको हो उनले भने । घटनास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका चर्तुवेदीले बताए । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उनले जानकारी दिए । बिहीवार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ जना नेपालीसहित १९ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको छ । यस क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका सदस्यसहित काम गर्दै आएका छन् । यो ठाउँमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ । बेपत्ताको खोजीका लागि नयाँ दिल्लीमा रहेको दूतावासमार्फत् पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।