दाङ । दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाह बिहीबारदेखि कार्यालयमा फर्किएका छन्। वडामा छुट्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै शाहले असार १२ गते पदबाट राजीनामा दिएका थिए। असार १२ गते मेयर नरुलाल चौधरीलाई राजीनामा बुझाएका वडाध्यक्ष शाह झन्डै एक महिना एक हप्तापछि कार्यालय फर्किएका हुन्।
घोराहीकी उपमेयर हुमाकुमारी डिसीले वडाध्यक्ष शाह बिहीबारदेखि कार्यालयमा उपस्थित भई जनताको काममा खटिएको बताइन्। ‘उहाँसहित आज पाँचै जना जनप्रतिनिधि हाँसी खुसी कार्यालय जानु भएको छ,’ उपमेयर डिसीले भनिन्, ‘वडाध्यक्ष शाहले अन्य सदस्यलाई कार्यबाहक दिन्छु भन्दै बोलाएको भन्ने सूचना मलाई छ।’
उपमेयर डिसीका अनुसार यसअघि पनि उनले धेरैजसो समय अरू सदस्यलाई कार्यबाहक दिएर आफू यता उता घुम्ने गरेको गुनासो सर्वसाधारणबाट आउने गरेको बताइन्। ‘जनताले कति दुःख गरेर जिताएका हुन्छन्, जनताको काम गर्नुपर्छ नि,’ उनले भनिन्,‘आफू कार्यालय नै नजाने अरूलाई कार्यबाहक दिने र डुलिरहने हो भने किन चुनावमा उठ्नु बेकार।’
वडाध्यक्षले दिएको राजीनामा स्वीकृत भएको थिएन। शाह नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। घोराहीमा मेयर, उपमेयरदेखि बहुमत वडाध्यक्ष एमालेले जितेको छ। घोराहीले असार १० गते ल्याएको आर्थिक वर्षको बजेटमा नगरका सबै १९ वडामध्ये हरेकका लागि ८० लाख बजेट विनियोजित गरिएको थियो।
अघिल्लो वर्ष पनि शाहले पदबाट राजीनामा बुझाएको भए पनि केही समयको अन्तरालमा यसैगरी कार्यालय फर्किएको उपमेयर डिसीले बताइन्।
राजीनामा बुझाएको एक महिनापछि कार्यालय फर्किए घोराहीका वडाध्यक्ष शाह
दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाह बिहीबारदेखि कार्यालयमा फर्किएका छन्। वडामा छुट्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै शाहले असार १२ गते पदबाट राजीनामा दिएका थिए। असार १२ गते मेयर नरुलाल चौधरीलाई राजीनामा बुझाएका वडाध्यक्ष शाह झन्डै एक महिना एक हप्तापछि कार्यालय फर्किएका हुन्।

