भ्रष्टाचार मुद्दामा खोटाङका सिडिओ निलम्बित, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन् ।

भ्रष्टाचार मुद्दामा खोटाङका सिडिओ निलम्बित, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन्। तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन् । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खतिवडालाई आइतबार नै निलम्बन गरिएको बताए । खतिवडा निलम्बनमा परेपछि उनको स्थानमा अर्का प्रजिअ पठाउने निर्णय भने भइनसकेको शर्माले बताएको भनाइ छ । खतिवडा असार तेस्रो साता मात्रै प्रजिअ बनेर खोटाङ पुगेका थिए। शर्माका अनुसार अर्को प्रजिअ नपठाउन्जेललाई सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले निमित्त प्रजिअको भूमिका निर्वाह गर्ने छन्। खतिवडासँगै विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, वडा नम्बर १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए।