बञ्चरेडाँडामा स्थानीयको अवरोध कायमै, फोहाेर व्यवस्थापनमा समस्या

यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन्।

बञ्चरेडाँडामा स्थानीयको अवरोध कायमै, फोहाेर व्यवस्थापनमा समस्या
काठमाडौं । यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहाेर व्यवस्थापन गर्न नदिने अडान लिएका छन्। एक वर्षअघि काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै यही साउन १ गतेदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो। यो अवरोध माग पूरा नहुँदासम्म जारी रहने ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङ्ले जानकारी दिए। स्थानीयवासीको अवरोधकै कारण यसअघि पनि पटक–पटक रोकिएको काठमाडौँ उपत्यकाको फोहरको अन्तिम व्यवस्थापन कार्य आर्थिक वर्ष सुरु भएसँगै पुनः रोकिएको छ। नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाइँले यसअघि कामपासँग भएको सहमति पूरा नभएसम्म यस स्थानमा फोहर व्यवस्थापन गर्न नदिने स्पष्ट पारे। धुनीबेँसी नगरपालिका– १ का वडाध्यक्ष मानबहादुर तामाङ्का अनुसार सहमतिको एकवर्ष हुँदासम्म महानगरले स्थानीयवासीको माग पूरा गर्न चासो नदेखाएकाले सोमबारबाट फोहर व्यवस्थापनमा रोक लगाइएको बताए। यता कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले स्थानीयवासीले आसपासको तीन हजार रोपनी जग्गा अधिग्रहण गरिदिनुपर्‍यो भन्ने रहेको र कामपा एक्लैले उक्त काम गर्न नसक्ने बताए।