ललिता निवास प्रकरण : आरोपीको निवेदनमा अन्तिम बहस हुँदै

ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउँदा सरकारी दस्तखत तथा कागजात कीर्तेको आरोपमा पक्राउ परेका आरोपीहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा बुधबार सर्वोच्च अदालतमा अन्तिम बहस हुँदैछ।

ललिता निवास प्रकरण : आरोपीको निवेदनमा अन्तिम बहस हुँदै
काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउँदा सरकारी दस्तखत तथा कागजात कीर्तेको आरोपमा पक्राउ परेका आरोपीहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा बुधबार सर्वोच्च अदालतमा अन्तिम बहस हुँदैछ। बुधबार सरकारी पक्षले बहस सकेपछि सर्वोच्च अदालतले रिट निवेदनमा फैसला सुनाउनेछ। सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा सोमबारदेखि बहस भइरहेको छ। वहालवाला सचिव कृष्ण बहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्म प्रसाद गौतमले आफूहरुलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। वुधबार सरकारी पक्षसहित २०७९ सालमा दर्ता भएको रिटमाथि पनि सुनुवाई हुने छ। सर्वोच्चले यो विवादसँग सम्बन्ध देखिएका ६ थान मुद्दालाई साथै राखेर सुनुवाइ गरिरहेको छ। सँगै राखिएको निवेदनमा बन्दीसहित उत्प्रेषणको आदेश र भ्याकेटको निवेदन पनि पेसीमा रहेको छ। यसअघि केही आरोपीहरु २०७९ सालमा सर्वोच्चले जारी गरेको अन्तिम आदेशको आधारमा रिहा हुनुपर्ने माग गर्दै बन्दीको निवेदन लिएर सर्वोच्च पुगेका थिए।