शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ : मेयर बस्नेत

एसईईमा सफल दक्षिणकाली वडा नं ४ का सबै छात्रछात्रालाई प्रमाणपत्र र डायरी हस्तान्तरण गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रकाश विशुन्केले जानकारी दिए ।

शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ : मेयर बस्नेत
काठमाडौं । साहस नेपालले काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उत्तिर्ण छात्रछात्रालाई सम्मान गरेको छ । सल्लाघारी बाराहिडोलस्थित सामुदायिक भवनमा शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १५ जना छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको हो । सम्मानित १५ जना मध्ये २ जना 'ए प्लस', ७ जना 'ए', ४ जना 'बि प्लस', २ जनाले 'बि' ल्याएका थिए । एसईईमा सफल दक्षिणकाली वडा नं ४ का सबै छात्रछात्रालाई प्रमाणपत्र र डायरी हस्तान्तरण गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रकाश विशुन्केले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले अबको शिक्षा प्रविधिमैत्री रहेकोले विद्यार्थीहरुले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए । विषयगत समितिमार्फत शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै विभिन्न कार्यक्रम अघि सारेको मेयर बस्नेतको भनाइ छ । सम्मान कार्यक्रमसँगै सिद्धार्थ बैंक लिमिटेड, फर्पिङ शाखाका प्रमुख उज्जवल खड्का क्षेत्रीले विद्यार्थीहरुसँग एसईई पछि के बन्ने उद्देश्यले आयोजित करियर काउन्सिलिङ कार्यक्रममा विद्यार्थीहरुसँग अन्र्तक्रिया गरे । एसईईपछिको शैक्षिक भविष्यबारे गम्भीर हुनको लागि विद्यार्थीहरुलाई प्रेरणा दिइएको थियो । उनले विद्यार्थीहरुलाई अहिलेदेखि नै मेहनत गरे जीवनमा सक्षम र सफल हुन सकिने भन्दै हरेक कुराको सफलता व्यवस्थापनमा अडिएको बताए । कार्यक्रममा, वडा नं ४ का जनप्रतिनिधि, युवा समाजसेवी लगायतको उपस्थिति थियो ।