पहिराले बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध

अबिरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिराले सडक अवरुद्ध भएको हो ।

पहिराले  बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध
बुर्तिबाङ । अबिरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिराले सडक अवरुद्ध भएको हो । वर्षा हुँदाबित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात सञ्चालन हुन नसक्ने अवस्था रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । सडक अवरुद्ध हुँदा बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वीरुकुम र रोल्पा पुग्ने यातायातका साधन ठप्प छन् । पूर्वीरुकुमको रुकुमकोटबाट काठमाडौँ, पोखरा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन पनि सञ्चालन हुनसकेका छैनन् । लोकमार्गसँग सहकार्य गरेर सडक खुलाउने प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष घर्तीमगरको भनाइ छ । उनले यस सडकको खण्डको पातीहाल्नेमा रुख डलेर सडक अवरुद्ध भएकामा अहिले खुलाइसकेको बताए । अध्यक्ष घर्तीमगरले भने, “यो पहिराले हैरान बनायो, पानी पर्नैहुन्न, पर्यो कि माथिदेखि लेदो आएर सडकमा थुप्रिन्छ, यताको गाडी यतै, उताको गाडी उतै हुन्छन्, यसले धेरै समस्या बनायो । मुख्य सडकसँगै निसीखोलाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएको उनले जानकारी दिएबाठ ।