काठमाडौं । चीनले संघीय संसद सचिवालयलाई ८ वटा विद्युतीय गाडी उपहार दिएको छ। जसमध्ये ३ वटा एसयूभी मोडलका छन् भने बाँकी इ–६ मोडलका छन्।
संसद सचिवालयका अनुसार सबै गाडीको मूल्य करिब साढे ३ करोड जति पर्न आउँछ।
गत वर्ष तत्कालीन सभामुख अग्नि सापकोटाको निमन्त्रणमा नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष ली चाङ्शु नेपाल भ्रमणमा आएका थिए। उक्त भ्रमणको क्रममा नेपाललाई सहयोग प्रदान गर्ने विषयमा समझदारी भएको थियो। उक्त समझदारी अनुसार चीनले उपहारका रूपमा विद्युतीय गाडी पठाएको हो।
चीनले पहिलोपटक नेपाललाई गाडी दिएको भने होइन। तर यसपटक चीनले उपहार पठाएको गाडीमा चाइना एड लेखेर पठाइएको छ । यसअघि नेपालले २०७२ सालमा नाकाबन्दीताका ९ वटा किया गाडी उपहार प्राप्त गरेको थियो। नाकाबन्दीका बेला वीरगंजबाट गाडी भित्र्याउन नसकेपछि विराटनगरको नाकाबाट उक्त गाडी नेपाल ल्याइएको थियो। यसपटक भने रसुवागढी नाकाबाट गाडी भित्रिएको हो।
चीनले गाडी दिए पनि चार्जर दिएको छैन। संसद सचिवालय चार्जिङ स्टेशनको अभावमा गाडी कसरी सञ्चालन गर्ने भन्ने अन्यौलतामा फसेको छ।
सचिवालयका एक कर्मचारीका अनुसार गाडीका लागि चार्जिङ स्टेशन बनाउन नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरे पनि प्राधिकरणले बजेट अभाव देखाएको छ।
तस्बिर : सविन धमला
चीनले संसद सचिवालयलाई दियो ८ वटा विद्युतीय कार उपहार
चीनले संघीय संसद सचिवालयलाई ८ वटा विद्युतीय गाडी उपहार दिएको छ। जसमध्ये ३ वटा एसयूभी मोडलका छन् भने बाँकी इ–६ मोडलका छन्।

