‘मर्निङ वाक’मा गएका महिलाको सिक्री लुटपाटमा संलग्न पाँचजना पक्राउ

‘मर्निङ वाक’मा निस्किएका महिलाको गलाबाट सुनको सिक्री थुतेर फरार हुने गिरोहका पाँच सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । उक्त गिरोहले २२ दिनको अन्तरालमा आठजना महिलाको सिक्री लुटपाट गरेको थियो ।

‘मर्निङ वाक’मा गएका महिलाको सिक्री लुटपाटमा संलग्न पाँचजना पक्राउ
काठमाडौं । ‘मर्निङ वाक’मा निस्किएका महिलाको गलाबाट सुनको सिक्री थुतेर फरार हुने गिरोहका पाँच सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । उक्त गिरोहले २२ दिनको अन्तरालमा आठजना महिलाको सिक्री लुटपाट गरेको थियो । पक्राउ पर्नेमा रामेछाप लिखु गापा–१, दुरागाउँका ३२ वर्षीय रविन दमाईं, सुनसरी धरान उमनपा–८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे पाँचखाल नपा–७ का २६ उमेश क्षेत्री, धनकुटा लेगुवा गापा–७ का ३० वर्षीय राहुल क्षेत्री र भारत पश्चिम बंगालका ४२ वर्षीय श्रीकान्त माइती रहेका छन् । जसमध्ये दमाईं, विश्वकर्मा र माझी सुन चोरी घटनामा संलग्न अभियुक्त हुन् भने माझी र माइती चोरीका सुन खरिद गर्ने अभियुक्त हुन् । बम काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कार्यालय प्रमुख एसएसपी डा। मनोज केसीले भने, ‘काठमाडौंका विभिन्न ठाउँमा सुनका सिक्री लुटपाट भएको सूचना आएपछि अनुसन्धान सुरु गर्‍यौँ । २२ दिनको अन्तरालमा आठजना महिला लुटिएको सूचना आएको थियो । सबै ठाउँको सिसिटिभी फुटेज हेर्‍यौँ । घटना बिहान मात्रै भएको देखिन्छ । घटनाको ‘मोड्स अपरेन्डी’ एउटै देखिन्छ । यसलाई गहिरिएर अध्ययन गर्‍यौँ । यही क्रममा पाँच अभियुक्त पक्राउ परे ।’ प्रहरीका अनुसार उनीहरूले १ असारको बिहान ४६ वर्षीय रमा पाण्डेलाई कपुरधारामा लुटपाट गरेका थिए । सोही दिन उनीहरूले ४५ वर्षीय सरस्वती खतिवडालाई ग्रान्डी अस्पतालनजिक लुटपाट गरेका थिए । यस्तै, ३ असारमा ५५ वर्षीय रेखा घिमिरेलाई बुद्धचोकमा, १३ असारमा ७० वर्षीय मंगलीमाया डंगोललाई विष्णुमती पुलनजिकै, १९ असारमा ३४ वर्षीय गंगा रानामगरलाई कृष्ण मन्दिरमा, ६० वर्षीय कान्छी श्रेष्ठलाई बंगलामुखीमा, २० असारमा ४३ वर्षीय रीता श्रेष्ठलाई शेर्पा पेट्रोलपम्पमा र ६५ वर्षीय सरस्वती डंगोललाई चंगालमा लुटपाट गरेका थिए । विशेष गरी बिहानको समयमा हिँडडुलमा निस्किएका महिलाका गलाबाट सुनको सिक्री थुत्ने र फरार हुने गरेको अनुसन्धानबाट खुलेको एसएसपी डा.केसीले जानकारी दिए । उनले भने, ‘यिनीहरू मोटरसाइकलमा बिहानै सडकमा निस्किन्थे । रेकी गर्थे । निसाना निश्चित गर्थे । उपयुक्त मौकामा सिक्री थुत्थे र मोटरसाइकल चढेर फरार हुन्थे ।’