काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले राष्ट्रिय सभाको आइतबारको बैठक अवरुद्ध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ ।
राष्ट्रिय सभाको आइतबारको बैठक साढे १० बजेपछि सुरु भएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अवरोध हटाउनका लागि राष्ट्रिय सभामा रहेका दलका सचेतकहरूसँग छलफल गरेका थिए ।
एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीले राजीनामा दिनुको विलक्प नभएको भन्दै राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताइन् । उनले प्रधानमन्त्री भारत गएर राष्ट्रघाती सहमति गरेको पनि आरोप लगाइन् । भारतमा जाँदै गर्दा पनि उहाँले धेरै राष्ट्रघाती सहमति गरेर आउनुभएको छ, उनले भनिन्, अब संसद्लाई जवाफ दिन आवश्यक छैन । तपाईंको कुरा प्रष्टसँग आइसकेको छ । प्रष्टसँग तपाईंले बोलेको आएन र ? प्रितम सिंहले मलाई पधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो धेरै पटक दिल्ली जानुभयो भनेर तपाईंले भनेको होइन र ?
मुलुकको स्वाधिनताको विषय भएको भन्दै न्यौपानेले भनिन्, यो स्वाधिनता, राष्ट्रियताको विषय हो । संसद्मा आएर जवाफ दिन र प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य हुनुहुन्न । एउटैमात्र विकल्प बहिर्गमन हो ।
राष्ट्रिय सभाको अवरोध एमालेसँगै राष्ट्रपतिबाट मनोनित सांसद विमला पौड्याल राई पनि संलग्न भएकी छन् । नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको छ ।
एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले राष्ट्रिय सभाको आइतबारको बैठक अवरुद्ध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ ।

