सर्लाही । सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित पर्सा गाउँपालिका-४, जिङ्गडामा नदी नियन्त्रणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । बाँके खोलाको कटान नियन्त्रण गर्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दीपुको मृत्यु भएको हो ।
शनिबार दिउँसोदेखि बेपत्ता भएका दुई बालकलाई स्थानीयहरूले खोजी गर्ने क्रममा राति अबेर घरदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको खाल्डोमा अचेत भई डुबिरहेको अवस्थामा फेला पारेका थिए । उनीहरुलाई गाउँलेले नै तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुवै बालकको शव पोष्टमार्टमका लागि मलङ्गवा अस्पतालमै राखिएको सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए।
उनले मृतक बालकको परिवारबाट जाहेरी लिएर घटनाको थप अनुसन्धान प्रक्रिया अघि बढाइने बताए । एकै परिवारका दुई बालकको मृत्यु भएपछि जिङ्गडवा गाउँ शोकमा डुबेको छ । जिङ्गडवाका वडाध्यक्ष सुवोध राय यादवका अनुसार बाँके खोलामा नदी नियन्त्रणका लागि केही दिनअघि मात्रै खाल्डो खनेर तटबन्ध कस्ने काम भएको थियो ।
खाल्डोमा डुबेर दाजुभाइको मृत्यु
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित पर्सा गाउँपालिका-४, जिङ्गडामा नदी नियन्त्रणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।

